काठमाडौं, विश्वव्यापी भूटानी संगठन (जी.बी.ओ.) नेपालको औपचारिक उद्घाटन कार्यक्रम आज काठमाडौंको अनामनगरमा भव्य रूपमा सम्पन्न भएको छ। यो ऐतिहासिक कार्यक्रम GBO नेपालकी अध्यक्ष शिला उप्रेतीको नेतृत्वमा सम्पन्न भएको हो।
प्रमुख अतिथिका रूपमा नेपाल प्रतिनिधि सभाका उपसभामुख माननीय इन्दिरा राना मगरको उपस्थिति रहेको थियो।

जी.बी.ओ. नेपालको उद्घाटन समारोहमा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई विशेष बनाउन नेपाली हास्य कलाकार तथा अभिनेता श्री मनोज गजुरेल, नेपाली फिल्म उद्योगका अभिनेता तथा निर्माता श्री सिमान्त उदास, अभिनेता अनुभव रेग्मी, बेलडाँगी भूटानी शरणार्थी शिविरका सचिव श्री सञ्चा हाङ सुब्बा, पथरी भूटानी शरणार्थी शिविरका सचिव श्री कर्णवीर राई लगायत जी.बी.ओ. का अन्य सम्मानित सदस्यहरू उपस्थित रहेका थिए।

कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथि माननीय इन्दिरा राना मगरले जी.बी.ओ. नेपालको औपचारिक घोषणा गर्दै शुभकामना व्यक्त गरिन्।
उनले जी.बी.ओ. नेपालले शरणार्थी समुदायको हकहितका लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्। साथै, उनले भूटानी नेपाली समुदायको पहिचान, अधिकार र समृद्धिको यात्रामा जी.बी.ओ. नेपाल जस्तो संस्थाले महत्त्वपूर्ण योगदान पुर्याउने बताइन्। लोयलटी एकाडेमी काठमाडौंका विद्यार्थीहरूले स्वागन नृत्य प्रसतुत गरेको थिए ।
कार्यक्रमका क्रममा प्रमुख अतिथिहरूले भूटानी नेपाली समुदायको वर्तमान अवस्था, नेपाल र अन्तर्राष्ट्रिय स्तरमा उनीहरूको पहिचान, अधिकार र भविष्यबारे चर्चा गरे। हास्य कलाकार तथा अभिनेता मनोज गजुरेलले आफ्नो सम्बोधनमा नेपाली भाषा, संस्कृति र पहिचानको प्रवर्द्धनमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।














