काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (शनिबार) बिहान बुटवल लगिँदैछ।

सहकारी ठगी अभियोगमा गएराति आफ्नै निवासबाट पक्राउ परेका लामिछानेलाई आज बिहान जहाजमार्फत् भैरहवा हुँदै रुपन्देहीको बुटवल लैजान लागिएको हो।

लामिछानेलाई गएराति वीर अस्पतालमा स्वास्थ्य परीक्षणपछि काठमाडौं प्रहरीकै हिरासतमा राखिएको छ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार उनलाई एक लाख धरौटीमा रिहा गर्ने जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा पठाउने आदेश दिएको थियो। 

 जनहितमा जारी

यसअघि जिल्ला अदालतले सोही मुद्दामा छविलाल जोशीलाई थुनामा पठाउने र रविलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

उच्चले छविलाई थुनामा पठाउने आदेश सदर गर्दै रविलाई पनि थुनामा पठाउने आदेश गरेको हो।

रवि पक्राउपछि मध्यरातमा रास्वपाको आकस्मिक बैठक : डिपीलाई कार्यवाहक सभापतिको जिम्मेवारी, आजको सभा नरोक्ने

न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविको आदेश बदर गर्दै उनलाई पनि थुनामा पठाउने आदेश गरेको हो।

अदालतको आदेश लगतै प्रहरी रविलाई पक्राउ गर्न काठमाडौंस्थित निवासमा पुगेको थियो। यसअघि रवि चार वटा जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएका थिए।

ती चारवटै आदेशविरुद्ध उनी र सरकारी वकिल पनि उच्च अदालतमा गएका छन्। तर अब उनी उच्चको आदेशविरुद्ध थुनामै बसेर सर्वोच्च जान सक्नेछन्।