वाशिंगटन, ७ बैशाख । अन्तर्राष्ट्रिय झापाली समाजको चौथो क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ । झापाली समाज–अमेरिकाको
आयोजनामा अमेरिकाको वाशिंगटन डीसी.स्थित होटल डबल ट्री हिल्टनमा यही अप्रिल ११ र १२ तारिख सो सम्मेलन सम्पन्न भएको हो । अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगानाको सभापतित्वमा यहाँस्थित नेपाली दुतावासका नियोग उपप्रमुख शरदराज ऐरनको प्रमुख आतिथ्यमा भएको द्विदिवसीय सम्मेलनमा विश्वभरिबाट १५० बढी झापालीहरूको उपस्थिति रहेको महासचिव नगेन्द्र पोखरेल ‘नवीन’ले जानकारी दिनुभयो ।
झापाली समाज–अमेरिकाका अध्यक्ष मोहन उप्रेतीले स्वागत र महासचिव सीता पाण्डे एवम् सचिव तोया पौडेलले सहजीकरण गर्नु भएको कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रमहरू सहित भव्यताका साथ सम्पन्न भएको थियो ।
झापा जिल्लाको परिचयात्मक भिडियो पनि प्रदर्शन गरिएको सम्मेलनमा अन्तर्राष्ट्रिय झापाली समाजले हालसम्म गरेका विविध समुदायमुखी र परोपकारजन्य कार्यहरूको डकुमेन्ट्री समेत देखाइएको थियो ।
अप्रिल १२ मा ८ बुँदे घोषणा–पत्र जारी गर्दै सम्मेलन समापन भएको थियो ।














