भारतले पाकिस्तानले 'सीमा-पार आतंकवाद'लाई समर्थन गरिरहेको आरोप लगाउँदै यो प्रतिक्रिया दिएको थियो । यसबारे पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले घोषणा गरेको कदममा पाकिस्तानले तत्काल प्रतिक्रिया नदिने बताएका छन् ।

बीबीसीका अनुसार पाकिस्तानको एक सञ्चारमाध्यमलाई दिएको प्रतिक्रियामा उनले भारतमा भएको उक्त आक्रमण निन्दनीय रहेको बताएका छन् । ख्वाजाले भनेका छन्, 'भारतमा भएको घटना निन्दनीय छ । कुनै पनि रूपमा आतंकवादको समर्थन गर्न सकिँदैन ।'

भारतका विदेश सचिव विक्रम मिस्रीले पत्रकार सम्मेलनमा बताएअनुसार भारतले सन् १९६० मा गरिएको 'इन्डस जल सम्झौता' तत्काल  स्थगित गर्ने निर्णय गरेको छ । यसबारे प्रतिक्रिया दिँदै ख्वाजाले भनेका छन्, 'भारत लामो समयदेखि यो सम्झौताबाट बाहिरिन चाहेको थियो ।'

उनले भारतले पाकिस्तानमाथि कुनै पनि प्रकारको आक्रमण गरे त्यसको कडा जवाफ दिन पाकिस्तान सक्षम रहेको पनि चेतावनी दिएका छन् । उनले भनेका छन्, 'कुनै पनि प्रकारको भारतीय हमलाको कडा जवाफ दिन सक्ने १०० प्रतिशत स्थितिमा पाकिस्तान छ ।'