युथ पावर फाउण्डेशनले बिर्तामोड वडा नम्वर ७ मा हाडजोर्नी तथा नशा सम्बन्धी एकदिने निशुल्क स्वास्थ्य शिविरको सफल आयोजन गरेको छ। यस शिविरले स्वास्थ्य सेवा पुग्न नसकेका विपन्न समुदायलाई लक्षित गर्दै महत्त्वपूर्ण योगदान पुर्याएको छ।
कार्यक्रमलाई सफल बनाउन प्राविधिक सहयोग स्पाइन एक्स अस्पतालले गरेको थियो भने आर्थिक सहयोग बिर्तामोड वडा नम्वर ७ ले उपलब्ध गराएको थियो। फाउण्डेशनकी अध्यक्ष दीपा पोखरेलले सहयोगदाताप्रति विशेष आभार व्यक्त गरेकी छन्।
उनले स्वास्थ्य सेवा पहुँचमा विपन्न नागरिकहरूलाई राहत मिलाेस भनी शिविरकाे अायाेजन गरिएकाे बताइन ।
शिविरको उद्घाटन कोशी प्रदेशका खोनेपानी सिचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले गरेका थिए। प्रमुख अतिथि कार्कीले समुदायको स्वास्थ्य समस्याको दीर्घकालीन समाधानका लागि यस्तो शिविरको आवश्यकता रहेको बताए।
उनले “यस्ता निःशुल्क स्वास्थ्य शिविरहरूले समुदायमा स्वास्थ्य सचेतना फैलाउने काम गर्ने बताए । हाडजोर्नी तथा नशा सम्बन्धी समस्याहरूले धेरै नागरिकलाई दैनिक जीवनमा समस्या भइरहेको अवस्थामा यस्ता शिविरहरू अत्यन्तै प्रभावकारी बन्ने मन्त्री कार्कीकाे भनाइ छ ।
उनले सामाजिक उत्तरदायित्व महसुस गर्दै यस्तो सकारात्मक कार्यक्रमकमो आयोजना गरेकाेमा युथ पावर फाउण्डेशनलाई धन्यवाद दिए ।
प्रदेश सरकार यस्ता कार्यक्रमप्रति सधैं सकारात्मक छ र आवश्यक समन्वय तथा सहयोगका लागि तत्पर रहेकाे पनि बताए।
बिर्तामोड वडा नम्वर ७ का अध्यक्ष कृष्ण अविरल खरेलले यस्ता जनमुखी स्वास्थ्य शिविर आयोजना हुनु निकै सराहनीय कार्य रहेको बताए ।
हाडजोर्नी तथा नशा सम्बन्धी समस्या यहाँका नागरिकमा सामान्य रूपमा देखिने समस्या भएको उनको भनाइ छ ।
युथ पावर फाउण्डेशनको यस्तो पहलले स्वास्थ्य सेवा पहुँचमा सीमित नागरिकहरूलाई राहत मिल्ने अध्यक्ष अविरल बताउछन् ।
वडा कार्यालय सधैं यस्ता समाजोपयोगी कार्यमा साथ र सहयोग गर्न तयार रहेको बताउदै यही बैशाब २६ गते क्यान्सर सम्बन्धीको स्क्रिनिङ कार्यक्रम राखिएको उनले बताए ।
यस कार्यक्रममा २०० भन्दा बढी स्थानिय बासिन्दाले निशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
युथ पावर फाउण्डेशनले स्वास्थ्य र सामाजिक क्षेत्रमा निरन्तर सक्रियता देखाउँदै, विपन्न पहुँचमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले अभियान सञ्चालन गर्दै आएको छ। समुदायका लागि यो शिविर एक प्रेरणादायी कदम बन्न पुगेको छ।