बिर्तामोड | भरत भावुक प्रसाई, बिर्तामोड चेस क्लबको आयोजनामा झापा जिल्लाको बिर्तामोडमा राष्ट्रिय स्तरको प्रथम फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता आयोजना हुने भएको छ।

आगामी २०८२ साल जेठ २ गतेदेखि ४ गतेसम्म बिर्तामोडस्थित सिटी सेन्टरमा हुने उक्त प्रतियोगितामा देशभरिका प्रतिस्पर्धीहरू सहभागी हुनेछन्।

कार्यक्रमको सह-आयोजक किरात याक्थुङ चुम्लुङ,  रहेको छ भने प्रतियोगिताको संयोजन बिर्तामोड चेस क्लबका  उपाध्यक्ष  ज्वाला इम्बुङले गरिरहनुभएको छ।

संयोजक इम्बुङले प्रतियोगिताको औचित्यमाथि प्रकाश पार्दै बुद्धिचालले युवाहरूलाई सोच्ने क्षमता, सहनशीलता, तथा अनुशासन सिकाउने बताएका छन्।

किरात याक्थुङ चुम्लुङका अध्यक्ष हिमालय प्रकाश कन्दङवाले प्रतियोगिता बुद्धिचालको माध्यमबाट समाजमा सकारात्मक सोच र सिर्जनशीलता विकास गर्ने प्रयास भएको बताउनु भयाे ।

“खेलले केवल प्रतिस्पर्धा मात्र होइन, युवाहरुलाई अनुशासन, धैर्यता, र योजना बनाउने क्षमतामा पनि अगाडि बढाउँछ,” उहाँले भन्नुभयो।

पत्रकार महासंघका उपाध्यक्ष सुवर्त न्यौपानेले शुभकामना मन्तव्य राख्दै बौद्धिक विकासका लागि यस्ता प्रतियोगिता आवश्यक रहेको बताउनु भयाे । 

उहाँले , “बुद्धिचालजस्तो खेलले हाम्रो नयाँ पुस्तालाई केवल मोबाइल र इन्टरनेटको कुलतबाट हटाएर गहिरो सोच र तर्कतर्फ अग्रसर गराउने भएकाले खेलकाे विशेष महत्त्व  रहेकाे बताउनु भयाे ।

उहाँले प्रतियोगिता लाई सफल बनाउन झापाली पत्रकारहरुकाे यथेष्ट सहयाेग रहने बताउनु भयाे । उहाँले पत्रकार महासंघ सधैँ यस्ता सकारात्मक गतिविधिहरूको साथमा रहेकाे बताउनु भयाे । 


बिर्तामोड चेस क्लबका अध्यक्ष नारायण राईले  प्रतियोगिता आयोजना गर्नु क्लबको लामो समयदेखिको सपना भएको बताउनु भयाे ।

उहाँले  स्थानीय तह, बिर्तामोड नगरपालिकाको आर्थिक सहयोग, र कोशी प्रदेश सरकारको प्रमुख सहयोगमा प्रतियोगिता सम्पन्न हुने बताउनु भयाे  । 

क्लबले प्रतियोगिता मार्फत सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई निःशुल्क सहभागिता दिने निर्णय गरेको छ।

अध्यक्ष राईले भन्नु भयाे  “बिर्तामोडमा धेरै चेसप्रेमी युवाहरू छन्। हामी उनीहरूलाई प्रशिक्षण, तालिम, र प्रतिस्पर्धाको अवसर दिन चाहन्छौं। हामीले यो प्रतियोगिता सरकारलाई समेत खेल विकासतर्फ ध्यान दिन प्रेरित गर्ने माध्यम होस् भन्ने आशा गरेका छौं।”

बिर्तामोड चेस क्लबले सम्पूर्ण संघसंस्था, समाजसेवी, र खेलप्रेमीहरूलाई कार्यक्रम सफल पार्न आर्थिक, भौतिक, र नैतिक सहयोगको अपील गरेको छ।

पत्रकार सम्मेलनमा पत्रकार महासंघ झापाका सचिव प्रदिप परियार, सह-सचिव रमेश तिवारी , बिर्तामाेड चेस कल्बका सचिव विष्णुप्रसाद पाठक , कार्यसमिति सदस्य देवकुमार श्रेष्ठ , सन्ताेश कार्की ,सल्लाहकार केशव ताम्राकार , बिजय वराल , लगायत झापाली पत्रकारहरुकाे उपस्थिति रहेकाे थियाे । प्रतियोगितामा २०० जना भन्दा बढीको सहभागिता रहने अायाेजकले जनाएकाे छ । 

 प्रतियोगितामा प्रथम पुरस्कार ५१ हजार, दोश्रो ३५ हजार, तेस्रो २५ हजार रहेको छ । प्रतियोगितामा विधागत र भूगोलको आधारमासमेत पुरस्कार दिइने छ ।

कार्यक्रममा ९ लाख ६१ हजार पाँच सय रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजक संस्थाका अध्यक्ष नारायण राईले जानकारी दिनु भयो 


बिर्तामोड चेस क्लबका अध्यक्ष नारायण राईकाे अध्यक्षतामा सम्पन्न  कार्यक्रमकाे सहजीकरण पत्रकार विजय वरालले गर्नु भएकाे थियो