रुपन्देही – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी रूपमा बढिरहेको अशान्ति र द्वन्द्व समाधान गर्न बुद्धबाट प्राप्त शिक्षा महत्त्वपूर्ण भएको बताउनुभएको छ ।
बुद्ध जन्मस्थल लुम्बिनीमा आज आयोजित २५६९औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस–२०८२ मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समयक्रममा बुद्धको उपदेश र शिक्षा विश्वका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले अहिले विश्वमा बढ्दै गएको द्वन्द्व र हिंसालाई हतियारको बलमा नभई बुद्धबाट प्राप्त शान्तिको सन्देशले मात्र रोक्न सक्ने धारणा व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भारत–पाकिस्तानबीचको द्वन्द्व नेपालसहित अन्तर्राष्ट्रिय जगत्को अनुरोधपछि दुवै पक्ष संयमित भएका तथा त्यसको परिणाम स्वरूप युद्ध रोकिनुका साथै क्षति हुनबाट जोगिएकामा खुशी व्यक्त गर्नुभयो । केही दिनअघि छिमेकी देश भारत र पाकिस्तानबीच तनावको स्थिति देखिएको प्रसङ्ग उल्लेख गर्दै उहाँले तर स्थिति त्योभन्दा बढी अघि बढ्न नपाएको र संयमताका लागि दुवै पक्षलाई धन्यवादसमेत दिनुभयो ।