नेकपा एमालेले १५ जेठमा गणतन्त्र दिवसको सन्दर्भमा जनप्रर्दशन गर्दै छ । देशभर उत्सव मनाउने निर्णय गरेको एमालेले काठमाडौंमा भने विशेष प्रर्दशन गर्ने भएको छ । त्यसदिन राजावादीहरूले पनि राजसंस्था पुनर्स्थापनाका लागि प्रर्दशन गर्दैछन् । एमालेले त्यही प्रर्दशनलाई काउन्टर गर्न जनप्रर्दशन गर्न लागेको हो ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ११ जेठमा गणतन्त्र दिवसको दिन काठमाडौंका सडक एमालेले कब्जा गर्ने बताएका थिए । निकै उत्तेजक भाषण गर्दै ओलीले राजावादीसँग आमनेसामने हुने आशय व्यक्त गरेका थिए । राजावादीहरूले त्यस दिनलाई शक्ति प्रर्दशनकै रूपमा लिएका कारणले एमालेले काउन्टर गर्न खोजेको देखिन्छ । राजावादीहरूको आन्दोलनलाई काउन्टर गर्न ओलीले १५ जेठमै जनप्रर्दशन गर्ने निर्णय पार्टी सचिवालयबाट गराएका हुन् ।
११ जेठको सचिवालय बैठकले निर्णय लिएको भोलिपल्ट १२ जेठको बिहान तयारी बैठकसमेत भएको थियो । पार्टी कार्यालय च्यासलमा भएको तयारी बैठकले प्रदर्शनलाई सफल बनाउन नेताहरूको जिम्मेवारी बाँडफाँट गरेर सर्कुलर गरिसकेको छ ।
एमाले महासचिव शंकर पोखरेलले जनसंगठनका अध्यक्ष, इन्चार्ज र काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका वडा तहसम्मका पदाधिकारीहरूको बैठकमा नेताहरूको जिम्मेवारी बाँडफाँट गरेका हुन् । अनि एमालेले काठमाडौंको जनप्रदर्शनका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठलाई जिम्मा दिएको छ । उनीहरूको कमाण्डमा कार्यकर्ताहरू परिचालन हुनेछन् । साथै, जनसंगठनहरूको संयोजन गर्नका लागि सचिव गोकर्ण विष्टलाई जिम्मेवारी दिइएको छ ।
ओलीले सडक कब्जा गर्ने भन्दै उत्तेजक भाषण गरेका कारण १५ जेठमा राजावादी र एमाले आमनेसामने हुने संभावना बढाएको छ । त्यसले गर्दा प्रदर्शन हिंसात्मक हुने संभावना पनि बढाएको छ । त्यसैले, अहिले एमालेको आलोचना पनि हुन थालेको छ । राजावादीहरूको पूर्वनिर्धारित प्रदर्शनलाई एमालेले काउन्टर गर्ने प्रयास अहिलेमात्र भएको होइन, १५ चैत २०८१ को राजावादीको आन्दोलनमा पनि एमाले अस्वाभाविक चर्को सुनिएको थियो । ओलीले त्यतिबेला पनि चर्को र उत्तेजक भाषण गरेका थिए । त्यसो गत ७ मंसिरमा पनि काउन्टर सभा गरेका थिए । दुर्गा प्रसाईंको नेतृत्वमा राजावादी र सहकारी तथा लघुवित्त पीडितले काठमाडाैंमा प्रदर्शन गर्ने तयारी गरेका थिए । त्यही दिन पारेर एमालेको युवा संघले अर्काे सभा राखेको थियो । दुई समूह आमनेसामने हुने डरले त्यसदिन युवा संघलाई तीनकुने र प्रसाईंलाई बल्खु क्षेत्रमा प्रदर्शनका लागि स्थान तोकिएको थियो । त्यसैले, १५ जेठको काउन्टर आन्दोलन हिंसात्मक हुनेसक्ने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ । सरकारका रहेको प्रमुख दलमात्र होइन, प्रधानमन्त्रीको पार्टीले नै सडक कब्जा गर्ने र अर्को पक्षको प्रदर्शनकारीसँग भिड्न प्रेरित गर्नु गलत भएको टिप्पणी भइरहेको छ ।
एमालेले १५ जेठको प्रदर्शनका लागि सुदूरपश्चिम र कर्णाली प्रदेश समन्वयको जिम्मा सचिव लेखराज भट्ट र बागमती प्रदेशका जिल्लाको जिम्मा उपमहासचिव प्रदीप ज्ञवाली, लुम्बिनी र गण्डकीको समन्वय सचिव पद्मा अर्याल र कोशी प्रदेशको समन्वय गर्न उपाध्यक्ष रामबहादुर थापालाई जिम्मेवारी तोकेको छ । त्यसैगरी, मधेश प्रदेशको समन्वय उपाध्यक्ष युवराज ज्ञवालीले गर्नेछन् । उपत्यकाका जनप्रदर्शनमा ठूलो सङ्ख्यामा सहभागी गराउनकै लागि एमालेले ललितपुर र भक्तपुरको समन्वय गर्न जिम्मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र गुरु बराललाई दिएको छ । त्यसैगरी, उपत्यकाबाहेक बागमती प्रदेशका जिल्लाको समन्वय उपाध्यक्ष सुरेन्द्र पाण्डेले गर्नेछन् ।