इरानले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्सँग आपत्कालीन बैठक बोलाउन माग गरेको छ । इरानको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर अमेरिकाले इरानका ३ वटा आणविक पूर्वाधारमाथि गरेको हवाई आक्रमणले संयुक्त राष्ट्रसङ्घको सन्धि र अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घन गरेको भन्दै बैठक बोलाएर अमेरिकालाई अन्तर्राष्ट्रिय नियम उल्लङ्घनका लागि जवाफदेही ठहराउन माग गरेको हो ।

मन्त्रालयले विज्ञप्तिमा इरानले आफ्नो सार्वभौमिकता र राष्ट्रिय हितको रक्षा गर्न सम्पूर्ण अधिकार सुरक्षित राखेको पनि उल्लेख गरेको छ । इरानका सबै आणविक कार्यक्रमहरू अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको निगरानीमा रहेकाले अमेरिकी आक्रमण गम्भीर प्रकृतिको अपराध भएको मन्त्रालयको दाबी छ ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले भने आपत्कालीन बैठक बोलाइसकेको छ । आईएईएका महानिर्देशक राफेल ग्रोसीले सामाजिक सञ्जालमा लेख्दै इरानमा भएको घटनाक्रमका कारण आपत्कालीन बैठक बोलाएको जानकारी दिनुभएको हो ।

अमेरिकाले आज बिहानै इरानको फोर्दो, नतान्ज र इस्फाहानका परमाणु केन्द्रमा हवाई आक्रमण गरेको हो । इरानमा इजरायली आक्रमणको १०औं दिन चलिरहँदा प्रत्यक्ष आक्रमण गरेर अमेरिका पनि युद्धमा संलग्न भएको हो ।

अमेरिकाले गरेको आक्रमणमा भएको क्षतिको विवरण सार्वजनिक भएको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमण सफल भएको दाबी गर्नुभएको छ । इरानले भने आक्रमण गरेको ठाउँ यसअघि नै खाली गराइसकेकोले पूर्वाधारबाहेक उल्लेख्य क्षति नभएको दाबी गरेको छ ।

इरान र इजरायलबीच चलिरहेको युद्धमा अमेरिका पनि सहभागी भएपछि युद्ध थप चर्किएको छ । अमेरिकी आक्रमणको संयुक्त राष्ट्रसङ्घसहित विश्वका विभिन्न नेताहरूले विरोध गरेका छन् ।