इजरायलले इरानको फोर्दाे परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी आक्रमणबाट क्षतिग्रस्त भएको एक दिनपछि इजरायलले फोर्दाे परमाणु केन्द्रमा पुग्ने पहुँच मार्गहरूमा नयाँ हवाई आक्रमण शुरू गरेको बीबीसीले जनाएको छ ।

इजरायली सेनाले इरानमा अभूतपूर्व बल प्रयोग गर्दै आक्रमण गरिरहेका रक्षामन्त्री इजरायल काट्जले बताउनुभएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा नेतृत्व परिवर्तनको सम्भावना रहेको टिप्पणी गर्नुभएको छ । उहाँको टोलीले अमेरिकी आक्रमणको उद्देश्य शासन परिवर्तन गर्नु नभएको बताएको केही घण्टापछि नै ट्रम्पले इरानमा नेतृत्व परिवर्तनको सम्भावना रहेको बताउनुभएको हो ।

इरानले अमेरिकी आक्रमणको निर्णायक प्रतिक्रिया दिने वाचा गरेको छ । अमेरिकाले इरानको फोर्दो, नटान्ज र इस्फहानमा रहेका परमाणु केन्द्रहरूमा आक्रमण गरेको थियो ।

यसैबीच इरानको संसद्ले हर्मुज जलमार्ग बन्द गर्ने प्रस्ताव अनुमोदन गरेको छ । तर यसको कार्यान्वयन भने देशका सर्वाेच्च नेता आयतोल्लाह अली खामेनेईले गर्नुपर्छ ।

युरोपेली सङ्घले इरानलाई हर्मुज जलमार्ग बन्द नगर्न आग्रह गरिरहेको छ । यस्तै अमेरिकाले चीनलाई प्रमुख ढुवानी मार्गमा इरानमाथि दबाव दिन आग्रह गरेको छ ।

हर्मुज जलमार्ग इरानसँग जोडिने पर्सियन खाडी र ओमानको खाडी हुँदै अरब सागरसम्म पुग्ने बाटो हो । तेल उत्पादन गर्ने थुप्रै खाडी देशहरूले यो जलमार्ग प्रयोग गरेर तेल निर्यात गर्ने गर्छन् ।