काठमाडौं । रूसले आइतबार राति युक्रेनमाथि अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेको छ । अन्तरर्राष्ट्रिय सञ्चार संस्थाहरूका अनुसार रूसले ४७७ ड्रोन र ६० वटा मिसाइल प्रहार गरेको हो । यस क्रममा रूसले एम/केएन-२३ ब्यालिस्टिक मिसाइल र क्रूज मिसाइल प्रयोग गरेको छ।

युक्रेनको रक्षा मन्त्रालयले सामाजिक सञ्जालमार्फत युक्रेनी वायु सेनाले तीमध्ये ४७५ आक्रमणलाई रोक्न सफल भएको दाबी गरेको छ।

रिपोर्टअनुसार, उक्त आक्रमणको क्रममा एक मिसाइलले युक्रेनको एफ-१६ फाइटर जेट खसालेको छ । युक्रेनले उक्त आक्रमणमा फाइटर जेटका पाइलट मक्सिम उस्तीमेन्कोको ज्यान गएको पुष्टि गरेको छ।

रूसी हमलामा युक्रेनका पाइलट मक्सिम उस्तीमेन्को मारिएका हुन् । उनले रूसी आक्रमणको क्रममा ७ वटा मिसाइल खसालेका थिए। तर अन्तिम लक्ष्यमा नपुग्दै उनको विमानमा प्राविधिक समस्या देखियो। उनले विमानलाई बस्ती क्षेत्रबाट टाढा लैजान सफल भए, तर समयमै बाहिर निस्कन नसकेका कारण उनको ज्यान गयो।

कति भयो मानवीय र संरचनागत क्षति ?

२९ जुनको आक्रमणका क्रममा आकाशमा विस्फोट देखिएका थिए। बसोवास क्षेत्रका भवनहरू, संरचना र आधारभूत पूर्वाधारमा क्षति पुगेको छ।

कम्तीमा १२ जना घाइते भएका छन्। उद्धारकर्मीहरूले बालबालिकालाई सुरक्षित स्थानमा लैजाँदै गरेको दृश्य सञ्चार माध्यमहरूले गरेको रिपोर्टिङमा देखिएको छ।

जेलेन्स्कीले मागे अमेरिकी सहयोग 

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका र पश्चिमी दाताहरूलाई तत्काल सहयोगको अपिल गरेका छन्। उनले एक्समा लेखेका छन्, ‘रुसले आवास क्षेत्रलाई निसाना बनाएको छ। स्मिला सहरको एक बसोवास क्षेत्रको भवनमा भएको आक्रमणमा एक बालक घाइते भएको छ।’

जेलेन्स्कीले अमेरिका समक्ष ‘पैट्रियट मिसाइल सिस्टम’ आपूर्ति गर्न माग गरेका छन्। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालसम्म नयाँ सैन्य सहायता स्वीकृत गरेका छैनन्।

यद्यपि, हालैको नेटो शिखर सम्मेलनपछि ट्रम्पले यस प्रस्तावमा विचार गरिने बताएका छन्।