काठमाडौँ, असार २९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा आन्तरिक विवाद बढेका बेला राप्रपा नेता नवराज सुवेदी निर्वाचन आयोग जाँदैछन् ।
यसअघि अनुशासन समितिको अध्यक्षमा रहेका उनी आफूलाई हटाएपछि निर्वाचन आयोगमा जान लागेका हुन् । सुवेदी हाल राजसंस्था फर्काउने जनान्दोलन समितिको संयोजक रहेका छन् ।
अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिनअघि पार्टीको अनुशासन समितिमा रोशन कार्कीलाई नियुक्त गरेका थिए भने सगुन लावतीलाई प्रवक्ताबाट हटाएपछि विवाद बढेको हो ।
सुवेदी बिहान ११ बजे निर्वाचन आयोग पुगेर अध्यक्ष लिङदेनले आफूलाई पार्टीको विधान विपरित अनुशासन समितिको अध्यक्षबाट हटाएको उजुरी गर्ने भएका छन् ।
राप्रपाको वर्तमान विवादमा पार्टीका महामन्त्री धवलशम्शेर राणाले आफ्नो नेतृत्वमा अध्यक्ष लिङ्देनविरुद्ध मोर्चाबन्दी शुरु गरेका छन् ।
शनिबार राणाको नक्सालस्थित सचिवालयमा भएको छलफलमा ५० भन्दा बढी केन्द्रीय सदस्य सहभागी भएर आयोगमा उजुरी गर्ने निर्णय गरेका थिए ।
उनीहरुले अध्यक्ष लिङ्देनले पार्टीको विधान विपरीत काम गरेको आरोप लगाएका छन् ।














