बिर्तामोड स्थित नयां बसपार्कमा रहेका होटल व्यवसायलाई ब्यवस्थित गर्दै पर्यटयक मैत्री वातावरण बनाउन सबै पक्ष एकजुट हुनु पर्ने सरोकारवालाले बताएका छन् । आज झापाको बिर्तामोड स्थित नयां बसपार्कमा भएको छलफल तथा अन्तरक्रियामा सहभागिहरुले सो कुरा बताएका हुन् । 

होटल व्यवसायी संघ झापाको अग्रसरतामा आयोजना गरिएको छलफलका सहभागिले कोशी प्रदेश पर्यटन बर्ष २०८२ लाई सफल बनाउन सबै लाग्नु पर्ने समेत बताएका हुन् ।

अर्जुनधारा ११ का वडाध्यक्ष खगेन्द्र इङ्नाम, बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाई, होटल व्यवसायी संघ झापा अध्यक्ष इन्दिरा श्रेष्ठ, महासचिव शिवराज पौडेल, इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी बिजय श्रेष्ठ लगायतले पुर्वको प्रमुख व्यवसायीक थलो बिर्तामोड बसपार्कमा देखिएका बेथिती चिर्न सबै एक जुट भएर लाग्नु पर्ने धारणा राखेका हुन् ।

साथै होटल तथा लज व्यवसायी सबैले आगन्तुक पाहुनाको परिचय खुल्ने कागजात राख्नु पर्ने, लागु औषध नियन्त्रण, यौनजन्य गतिविधि, बाल श्रमीक कामदार राख्न नपाइने लगायतका कार्य तुरुन्त गर्न सम्बन्धित सबैलाई होटल व्यवसायी संघ झापाले निर्देशन समेत दिएको छ ।