बिर्तामोड, झापा । भरत राज प्रसाई नेपालको साहित्य, संगीत र कलाको श्रीवृद्धिका लागि २५ वर्षअघि बिर्तामोडमा स्थापित साहित्य चौतारीले आफ्नो रजत वर्षमा प्रवेश गरेको छ। झापामा स्थापना भई पूर्वाञ्चलभर सक्रियता विस्तार गरेको यस संस्थाले विगतको यात्रामा र्पुयाएको योगदान उदाहरणीय बनेको छ ।
संस्थाले साहित्य, संगीत र कला प्रवद्र्धनमा गरेको निरन्तर प्रयासले साहित्य चौतारीलाई केवल नाममा मात्र होइन, कार्यमा पनि एक प्रतिष्ठित संस्थाका रूपमा स्थापित गराएको छ । २५ वर्षे यात्राको स्मरणीय अवसर पारेर यस वर्ष संस्थाले ‘रजत वर्ष कृति’ र ‘तेस्रो स्मारिका’ प्रकाशन गरेको हो ।

यसै सन्दर्भमा म्युजिक नेपाल लिमिटेडका प्रबन्ध सञ्चालक सन्तोष शर्माले साहित्य चौतारीका संरक्षक एवं अध्यक्ष देवीभक्त श्रेष्ठलाई विशेष शुभकामना पत्र पठाउँदै यस पुनित अवसरप्रति हार्दिक हर्ष व्यक्त गरेका छन्। ।
शर्माले पठाएको शुभकामना पत्रमा भनिएको छ, झापा बिर्तामोडबाट सुरु भएर पूर्वाञ्चलभर आफ्नो प्रभाव छरेको यो संस्था अब रजत वर्षमा प्रवेश गर्दैछ। यति लामो समयसम्म निस्वार्थ र समर्पित भावनाका साथ संस्कृतिको सेवामा लाग्नु आफैंमा प्रशंसनीय कार्य हो।

उनले आगामी दिनहरूमा चौतारीको प्रभाव, योगदान र कार्यक्षेत्र झन विस्तार होस् भन्ने कामनासमेत व्यक्त गरेका छन्। ।

साहित्य चौतारीको यो रजत वर्षको अवसरले नेपाली साहित्य–संगीत क्षेत्रमा थप नयाँ ऊर्जा भर्ने अपेक्षा गरिएको छ ।