झापा, बिर्तामोड । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मुख्य कार्यालय बिर्तामोड–४, झापाको बुधबारे सेवा केन्द्र अन्तर्गतका शेयर सदस्य स्व. रमेश मगरले लिएको ४ लाख रुपैयाँ ऋण मिनाहा गरेको छ ।
स्व. रमेश मगरले मिति २०७८ साल मंसिर १६ गते संस्थाबाट रु. १० लाख ऋण लिएका थिए। निज मगरको मिति २०८२ साल साउन २४ गते असमायिक निधन भएपश्चात संस्थाले ऋण सुरक्षण कोष अन्तर्गत बाँकी रकम ६ लाख ९ हजार मध्ये रु. ४ लाख ऋण मिनाहा गरेको हो।

बिहीबार स्व. मगरको परिवारजनसँग सञ्चालक समिति उपाध्यक्ष राजेन्द्र प्रसाद गौतम, बुधबारे सेवा केन्द्र सञ्चालन उपसमितिका पदाधिकारी, व्यवस्थापक, विभागीय कर्मचारी तथा सेवा केन्द्रका प्रमुख र अन्य कर्मचारीको संयुक्त उपस्थितिमा भेटघाट गरी मिनाहाको पत्र परिवारजनलाई हस्तान्तरण गरिएको थियो।
निज मगरको परलोक गमनको छैठौँ दिनमा बुधबारे सेवा केन्द्र सञ्चालन उपसमितिका संयोजक डम्मरु बल्लभ ढुङ्गेलले दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना पत्र हस्तान्तरण गरेका थिए।
त्यस्तै, उपाध्यक्ष गौतमले रु. ४ लाख ऋण मिनाहा गरिएको पत्रसँगै, संस्थाको शेयर सदस्यको एकाघर परिवारमा पर्न गएको मृत्युको घटनामा मानो चामल र काजकिरिया खर्च सहयोगस्वरूप नगद रु. १५ हजार तथा जिन्सी सामाग्री प्रदान गरेका थिए।
झापाको अग्रणी संस्थाको रुपमा परिचित सो संस्थाले आफ्ना शेयर सदस्यहरुको जन्मदेखी मृत्यु सम्मका हरेक सुख दुखको क्षणमा साथ दिँदै आएको र संस्थाले हाल सदस्यहरुलाइ कारोबारको आधारमा निशुल्क दुर्घटना बीमा, नियमानुसारको ऋण बीमा अन्य बिविध राहात कार्यक्रम मार्फत सुविधा दिँदै आएको र सदस्यको मृत्यु भएपश्चात नियमानुसार ऋण मिनाहा गर्दा सदस्यको परिवारजनमा रहात मिल्ने विश्वास रहेको संस्थाका व्यवस्थापक सरोज दाहालले बताए ।
संस्थाले ‘हाम्रो नेपाल, हाम्रो सहकारी, हाम्रो भविष्य’ भन्ने मूल नाराका साथ हाल झापा, इलाम र मोरङका ३९ हजारभन्दा बढी शेयर सदस्यलाई प्रत्यक्ष सेवा दिइरहेको छ।














