झापा — भूटानी पीपुल्स पार्टीका अध्यक्ष बालराम पौडेलले भूटानी शरणार्थीलाई स्वदेश फिर्ता गराउन भूटानी राजा समक्ष राष्ट्रिय मेलमिलापको अपील गरेका छन्।
पौडेलले साउन १५ ९जुलाई ३०० मा राजा जिग्मे खे सर नामग्याललाई पत्र लेख्दै तीन दशकदेखि नेपालमा निर्वासित जीवन बिताइरहेका शरणार्थीलाई स्वदेश फर्काउने वातावरण बनाउन अनुरोध गरेका हुन्। पत्रमा पौडेलले भूटानमा विद्यमान राजनीतिक र मानव अधिकार संकट समाधान गर्न मेलमिलापको बाटो नै उपयुक्त हुने विश्वास व्यक्त गरेका छन्।
पत्रमा उल्लेख गरिएको
छ कि झण्डै १५०,००० भूटानीहरू १९९०
को दशकमा भूटानबाट विस्थापित भएका थिए। तीमध्ये केहीले तेस्रो देशमा पुनःस्थापना
पाएका छन् भने अझै करिब ७,०००
शरणार्थी झापा र मोरङका शिविरहरूमा बसोबास गरिरहेका छन्। पौडेलले शरणार्थीको
स्वदेश फिर्ताका लागि भूटानी राजा स्वयंले नेतृत्व लिनुपर्ने आवश्यकता औंल्याएका
छन्।
उनले भने, “नेपाल सरकारले हाम्रा आधारभूत आवश्यकताहरू—खाना, लुगा र आश्रय—दिएको छ। तर हामी अझैसम्म आफ्नै देश फर्कन नपाएको पीडामा छौं। हामी भूटान फर्किएर मात्र खुसी हुन सक्छौं।”
पौडेलले भूटानमा हाल पनि करिब २०० भन्दा बढी राजनीतिक कैदीहरू जेलमा रहेको जनाउँदै उनीहरूको निःशर्त रिहाईको माग पनि पत्रमार्फत गरेका छन्। उनका अनुसार ती कैदीहरू लोकतन्त्र र मानव अधिकारको आन्दोलनमा सक्रिय रहेको कारण जेलमा छन्।
पत्रमा नेपाल सरकारलाई पनि सम्बोधन गर्दै शरणार्थी पुनःस्थापनाका लागि
सहजीकरण गर्न अनुरोध गरिएको छ। “हामी भूटानी हौं, हाम्रो पहिचान खोसिएको छ। हामीले फेरि आफ्नो देश फर्कन पाउनुपर्छ।
मेलमिलाप नै यसको दीगो समाधान हो।”














