बिर्तामोड । झापाका वडाध्यक्षहरुले बिर्तामोडमा अनुभव साटासाट गरेका छन् । 

नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरुले कार्यअनुभव र समस्याहरु साटासाट गरेका हुन् ।

नेकपा एमाले झापाको स्थानीय विकास विभागले आइतवार (आज) आयोजना गरेको अन्तर संवाद कार्यक्रममा वडाध्यक्षहरुले आफ्नो वडामा गरेका उत्कृष्ट काम र समस्याहरुको बारेमा अनुभव सुनाए ।


पालिका–पालिकाको समूह बनाएर सामुहिक रुपमा काम र समस्याहरु राख्दै एक अर्काबीच अन्तर संवाद गरिएको थियो ।
local 2 (1)
अधिकांश वडाध्यक्षहरुले वडाको दैनिक कार्य र औपचारिक कार्यक्रमहरुले जनताको बीचमा जान कठिनाई भइरहेको बताए ।

कर्मचारी जस्तो बस्नैपर्ने, काम गर्नैपर्ने वडाध्यक्षको समेत भूमिका हुँदा जनताको बीचमा सोचे अनुसार जान नसकेको धारणा राखेका थिए ।

बजेटको अपर्याप्त र विकासको माग धेरै हुने समस्याले वडाध्यक्षहरु समस्यामा रहेको उनीहरुको भनाई थियो ।


यस्तै, फोहोरमैला व्यवस्थापनमा पनि कठिनाई भइरहेको बताएका थिए ।

अन्तरसंवाद कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य एवम् झापा इञ्चार्ज रोमनाथ ओलीले पार्टी कार्यक्रम र जनप्रतिनिधिबीचको अन्तर सम्बन्ध बारे सहजीकरण गरेका थिए ।

उनले वडाध्यक्षहरुलाई योजनावद्ध काम गर्न सूझाव दिए । हरेक कामको योजना बनाउनुपर्ने भन्दै ओलीले योजना निर्माण गरेर गरिने काममा सफलता हासिल गरिने बताए ।
यस्तै, पार्टीका झापा जिल्ला अध्यक्ष प्रेम गिरीले आगामी निर्वाचनका सन्दर्भमा सहजीकरण गरेका थिए । वर्तमान वडाध्यक्ष नै समाजको ऐना भएको गिरीको भनाई थियो ।


उनले अहिलेको जनप्रतिनिधिको कामले नै ०८४ मा परिणाम हात पर्ने धारणा राखेका थिए । उनले भूमि समस्याका बारेमा समेत वडाहरुको दायित्वका बारेमा सहजीकरण गर्दै उत्कृष्ट सेवा प्रवाहमा ध्यान दिन आग्रह गरे ।

local 2
अध्यक्ष गिरीले जनताको भरोसा नै एमालेसँग भएकाले सोही अनुसारको काम गर्न सूझाव दिए ।
जनताको आशा र भरोसा नै एमालेसँग छ, उनले भने – त्यो भरोसा तपाईहरुले पुरा गर्नुपर्छ ।  भुमि समस्या समाधान आयोग झापाको सदस्य रेणुका भुर्तेलले धनीपुर्जा वितरणको प्रगति , आवश्यक प्रक्रियाका बारेमा बताइन् ।

उनले वडा तहबाट धनीपुर्जा वितरणका लागि आवश्यक सहयोग गर्न सूझाव दिइन् ।

स्थानीय विकास विभागका प्रमुख शिव ढुङगेलले वडाध्यक्षहरुलाई वडाको कार्यसम्पादनमा सहयोग गर्ने उद्देश्यले अन्तरसंवाद गरिएको जानकारी दिए ।

वडामा काम गर्ने सन्दर्भमा धेरै किसिमका प्राविधिक र प्रक्रियागत कठिनाईहरु हुने भएकाले आवश्यक सहजीकरण गरिएको उनको भनाई थियो ।

विभागका सचिव नगेन्द्र प्रसाद संग्रौलाले सञ्चालन गरेको अन्तर संवाद कार्यक्रममा स्कुल विभागमा सचिव विजय तिम्सिनाले वडामा आइपर्ने अवरोध र प्रचार विभागका सचिव प्रदीप परियारले प्रभावकारी प्रचारका विषयमा सहजीकरण गरेका थिए ।