पैगम्बर मोहम्मदको १५०० औँ जन्मोत्सवको अवसरमा मुस्लिम समाज विकास प्रतिष्ठानको आयोजनामा सोमबार मदरसा तालीमूल कुरान विद्यालयको प्राङ्गणमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरप्रमुख पवित्र महतरा प्रसाईँले समाजमा मानवता, सहयोग र एकताको सन्देश फैलाउन रक्तदान कार्यक्रमले महत्वपूर्ण योगदान गर्ने बताउँदै यस्ता सामाजिक कार्यले आपसी सहकार्य र सद्भाव बलियो बनाउने उल्लेख गर्नुभयो ।
मुस्लिम समुदायले रक्तदान गर्नुहुन्न भन्ने सोचमा परिर्वतन ल्याउन सम्भवत नेपालमै पहिलो पटक मुस्लिम समाज विकास प्रतिष्ठानले रक्तदान कार्यक्रमको आयोजना गरेको मुस्लिम समाज विकास प्रतिष्ठानका अध्यक्ष अफरोज खान पठानले बताउनुभयो ।
खानले रक्तदानलाई मानवीय मूल्य र सामुदायिक सहकार्यको उदाहरणका रूपमा प्रस्तुत गर्न सफल भएको बताए।
उहाँले यसलाई समुदायभित्र सकारात्मक सोच र सामाजिक उत्तरदायित्वको नयाँ अभ्यासका रूपमा लिएको बताउनुभयो ।
साथै उहाँले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वसँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।
रक्तदान कार्यक्रममा सहभागीहरूले स्वेच्छाले रगतदान गरी समाजमा मानवता र सहयोगको सन्देश दिन सफल भएको प्रतिष्ठानले जनाएको छ ।
कार्यक्रममा स्थानीय युवाहरू, समाजसेवी, प्रतिष्ठानका पदाधिकारी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
रक्तदानमा करिब ३५ जनाले सहभागिता जनाएका थिए। विशेष गरी मुस्लिम समुदाय रक्तदानमा कमै देखिने धारणा रहँदै आएकोमा यसपालि महिलासहितको सहभागिताले नयाँ सन्देश दिएको स्थानीयले बताए।
कार्यक्रमको आयोजना मुस्लिम समाज विकास प्रतिष्ठान, बिर्तामोडले गरेको थियो।
मदरसा परिसरमै पहिलोपटक आयोजित रक्तदान कार्यक्रममा सामुदायिक एकता र धार्मिक सहिष्णुताको सन्देशसहित स्वास्थ्यप्रतिको जागरण देखिएको आयोजकहरूले बताएका छन्।
विशेष अतिथिमा वडा नं. ३ का अध्यक्ष मदन बुडाथोकी, वडा सदस्य हरि बास्कोटा, नेकपा एमाले नगर कमिटी अध्यक्ष सुबाष भट्टराई, देबराज कार्की, स्थानीय समाजसेवी कोसिस घिमिरे, सजेस सिवाकोटी, व्यवसायी बलराम कार्की, मनोज रौनियार, कैलाश प्रसाई लगायतको उपस्थिति रहेको थियो।














