काठमाण्डौ – कुवेतमा पछिल्लो तीन दिनमा नौ जना नेपाली श्रमिकहरुको ज्यान गएको छ । अरू १५ जना भन्दा धेरै नेपालीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको कुवेतमा रहेको नेपाली दुतावासलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
कुवेतको स्वास्थ्य मन्त्रालयले विज्ञप्ती निकालेर मेथनोल मिसावट गरेको रक्सी खाएका कारण एक सय ६० जना भन्दा धेरै प्रभावित भएका र उनीहरु मध्ये २३ जनाको ज्यान गएको जनाएको छ । मृतक सबैजसो एशियाली देशका रहेका मन्त्रालयले आज निकालेको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा देश उल्लेख नभए पनि ज्यान गुमाउने नौ जना नेपाली तिनै २३ जना मध्येका रहेका कुवेतमा रहेको नेपाली दुतावासले जनाएको छ ।
बीबीसीसँगको कुराकानीमा नेपाली दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यले कुवेतका अधिकारीहरुका अनुसार अवैध रूपमा बिक्री हुने रक्सीकै कारण ज्यान गएको बुझिए पनि पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेकोले कारण स्पष्ट भएको छैन । उहाँका अनुसार उपचार गराइरहेका मध्ये सबैजसो विशाक्त रक्सी खाएपछि बिरामी परेका हुन् ।














