बिर्तामोड । झापाको बिर्तामोडमा नागरिक प्रहरी अभियान अन्तर्गत टिसर्ट सार्वजनिक गरिएको छ । संक्षिप्त कार्यक्रमका बीच सार्वजनिक गरिएको टिसर्टमार्फत प्रहरीको अनुपस्थितिमा बढ्न सक्ने आपराधिक गतिविधि रोक्न नागरिकस्तरबाटै सुरक्षा बलियो बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ ।
कार्यक्रममा संयोजक सन्तोष घिमिरेले अहिलेको परिस्थितिमा हरेक नागरिक आफ्नो सुरक्षाका लागि आफैं प्रहरी बन्नुपर्ने अवस्था आएको बताए । उनले भने, “प्रहरी निकाय पूर्ण रुपमा कार्यस्थलमा फर्किएपछि हाम्रो काम सकिन्छ, तर अहिले आफ्नो ठाउँ आफ्नै सुरक्षामा भन्ने नारासहित हामी अघि बढिरहेका छौं ।”
उनका अनुसार यो अभियानमा सबै नेपाली नागरिक सहभागी हुन सक्नेछन् । घर–टोलमा कुनै शंकास्पद गतिविधि देखिएमा तुरुन्तै जानकारी दिन नागरिक प्रहरीले हटलाइन नम्बर सार्वजनिक गरेको छ ।
ती नम्बरहरुमा ९८६२७७७६४४, ९८२२१९७४७२, ९७०८०७८११७, ९८१७०४०२३७ समावेश छन् । साथै नेपाली सेनाका सेनानी दीपेन्द्रबहादुर बुढा (९८५८०५१७३३) र जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता (९८५२६९०२३२) लाई समेत जानकारी दिन सकिने व्यवस्था गरिएको छ ।
हालैको आगलागी घटनापछि कवाडी बनेका सामग्री चोरी हुने क्रम बढेपछि पुरानो ट्राफिक कार्यालयलाई नयाँ ट्राफिक प्रहरी कार्यालयमा सारिएको जनाइएको छ ।
सो अवसरमा टोल–टोलमा नागरिक प्रहरी गठन गरी सुरक्षा सुदृढ बनाउन घिमिरेले आग्रहसमेत गरे ।














