झापा । झापाको बिर्तामोड–५ शनिश्चरे रोडस्थित ईसा बुक्स एण्ड स्टेशनरीको आयोजनामा आजदेखि तेस्रो किताब मेला सुरु भएको छ ।
असोज १२ गतेसम्म सञ्चालन हुने यस मेलामा विद्यार्थी, बालबालिका र पुस्तकप्रेमीलाई लक्षित गरी विभिन्न विषयगत तथा विधागत पुस्तकहरू प्रदर्शनी र बिक्रीका लागि राखिएका छन् ।

मेलामा पाठ्यपुस्तक, कथा–उपन्यास, कविता संग्रह, सन्दर्भ सामग्रीदेखि लिएर प्रतियोगी परीक्षाका तयारी पुस्तकसम्म १० देखि ३० प्रतिशतसम्म छुटसहित उपलब्ध छन् । साथै, आकर्षक उपहार तथा विशेष अफरको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
ईसा बुक्सका सञ्चालक केशव प्रसाद मैनालीका अनुसार पठन संस्कृतिको विकास गर्ने र विशेषगरी विद्यार्थी तथा पाठकलाई पढाइमा प्रेरित गर्ने उद्देश्यले किताब मेला आयोजना गरिएको हो ।

“पढौँ, पढाइले सोचको दायरा फराकिलो बनाउँछ भन्ने सोचका साथ हामीले हरेक वर्ष मेला गर्दै आएका हौँ,” मैनालीले बताए ।
मेला अवधिभर स्थानीय लेखक–साहित्यकारको सहभागिता रहने र पाठकहरूसँग पुस्तकको महत्वबारे अन्तरक्रियात्मक छलफलसमेत आयोजना हुने बताइएको छ ।
आयोजकले यस वर्ष पनि स्थानीय पुस्तकप्रेमीलाई पुस्तकप्रतिको रुचि बढाउन र पढाइ संस्कृतिलाई प्रवद्र्धन गर्ने लक्ष्य लिएको जनाएको छ ।














