झापा । साहित्य चौतारी नेपालले संस्थामा आबद्ध दिवंगत स्रष्टा–सर्जकहरूको स्मृतिमा सामूहिक श्रद्धाञ्जली अर्पण गर्दै जेन्जी आन्दोलनमा सहादत प्राप्त वीर युवाहरूको सम्मानमा दीप प्रज्वलनगरि ६१औँ राष्ट्रिय बाल दिवस तथा शोकसभा सम्पन्न गरेको छ।

साहित्य चौतारी नेपालका संरक्षक एवं अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पहिलो श्रृङ्खलामा अर्जुनधारा जलेश्वरधामका अर्चक अग्निप्रसाद सिग्देल प्रमुख अतिथि रहनुभएको थियो भने दोस्रो श्रृङ्खलाको कार्यक्रममा बालप्रतिभा पुरस्कार विजेता तथा सारेगम लिटल च्याम्स की विजेता कृपा पौडेल प्रमुख अतिथि बन्नुभएको थियो।

कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो। पहिलो चरणमा चौतारीमा आबद्ध दिवंगत स्रष्टा–सर्जकहरूको स्मरण एवं श्रद्धाञ्जलीसहित जेन्जी आन्दोलनमा सहादत प्राप्त वीर युवाहरूको सम्मानमा दीप प्रज्वलन गरिएको थियो।
स्वागत मन्तव्य दिँदै अध्यक्ष श्रेष्ठले राज्यले बर्बर दमनमार्फत कलिला युवाहरूलाई ताकी–ताकी हत्या गरेको दिनलाई स्मरण गर्दै उनीहरूको बलिदानलाई उच्च सम्मानसहित कदर गर्ने उद्देश्यले शोकसभा आयोजना गरिएको बताउनुभयाे ।

उहाँले “नेपाली जेन्जी युवा चिन्तनले विश्वमै कहीँ नभएको परिवर्तन नेपालमा ल्याउन सफल भएको” उल्लेख गर्नुभयो।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव तथा पत्रकार तुलसी निरौलाले गर्नुभएको थियो। कार्यक्रममा सरगम संगीत विद्यालय, सप्तक संगीत विद्यालय, मेरो भ्वाइस युनिभर्सका प्रतिभा, सारेगम लिटल च्याम्स विजेता र Voice of Kids का सहभागी गरी २३ जना प्रतिभाले देशभक्ति गीत–संगीत प्रस्तुत गरेका थिए।

प्रमुख अतिथि पौडेलले “छाडेर काम सारा” बोलको गीत प्रस्तुत गर्दै दर्शकलाई मन्त्रमुग्ध बनाइन्। Voice of Kids season 4 का टप २४ मा पुगेका सुज्यान खनाले “जहाँ छन् बुद्धका आँखा” गाए।
सरगम संगीत विद्यालयका विद्यार्थी अङ्कित बिष्टले “नेपाली हामी रहौँला कहाँ नेपालै नरहे”, आकृत बिष्टले “म मरे पनि मेरो देश बाँचिरहोस्”, प्रशान्त भण्डारीले “म मरे पनि मलाई मेरो देशको माया छ” प्रस्तुत गरे।
त्यस्तै, साहित्य चौतारी कार्यसमिति सदस्य मनिषा भट्टराईले “यो कर्मभूमिको आँगन”, Voice of Kids season 4 का उपविजेता अभुजित अधिकारीले “बनेको छ पहरा”, रक्षा तिम्सिनाले “हटी होइन डटी लड्ने” गीत प्रस्तुत गरे। सरगम संगीत विद्यालयका सञ्चालक सरोज वत्स र विद्यार्थीहरूले “नजाऊ छोडी यो देश” बोलको गीत गाएर उपस्थितलाई भावुक बनाए। यी प्रस्तुतिहरूले वातावरणलाई देशभक्ति र शोकमय बनाएको थियो।
अतिथि वक्तामध्ये न्युटन एजुकेसन फाउन्डेसनका प्रिन्सिपल देवेन्द्र हुमागाईले विद्यालय पोशाकमा रहेका बालबालिकालाई राज्य संयन्त्रले ताकी–ताकी हत्या गर्नु तानाशाही प्रवृत्ति भएको भन्दै कानुनी कारबाहीको माग गर्नुभयो।
उहाँले झापाका गोपाल सेडाईले आन्दोलनमा ज्यान गुमाउनु परेको घटना स्मरण गर्दै सरकारको सामाजिक सञ्जाल प्रतिबन्ध प्रयास नागरिक अधिकार विपरीत रहेको टिप्पणी गर्नुभयो।
त्यस्तै, माेफसल अनलाइनका सम्पादक भरत प्रसाईंले सञ्चार जगतले कला, साहित्य र समाजको दर्पणको भूमिका खेल्न नसकेको स्वीकार गर्दै साहित्य, संगीत र पत्रकारिता परस्पर र पूरक भएको धारणा राख्नुभयो।
कार्यक्रममा साहित्य चौतारीका सल्लाहकार तथा लोकगायक अनिरुद्र ओली, साहित्यकार विनोद खनाल, साहित्यकार इलामेली जेठो लगायतले धारणा राखेका थिए।
संयोजक हिम्मत नेम्बाङले कार्यपत्र प्रस्तुत गर्दै दिवंगत स्रष्टा–सर्जकको स्मरणमा प्रत्येक वर्ष दीप प्रज्वलन गर्दै आएको र यसपटक पनि भावुक र गाम्भीर्यताले भरिएको कार्यक्रम सम्पन्न भएको बताए।
कार्यक्रममा चौतारीकी संरक्षक उर्मिला बमिली श्रेष्ठ , उपाध्यक्ष शान्ता पौडेल, कोषाध्यक्ष भवानी गौतम, सदस्य मिना अधिकारी, नवीन दाहाल,सह सचिव ,जिना अधिकारी, सदस्य, कुमार श्रेष्ठ, सरगम संगीतालयका सञ्चालक तथा वरिष्ठ संगीतकार दीपक रायमाझी, समाजसेवी शेरबहादुर थापा, सूर्योदय टेलिभिजनका कर्पोरेट डिरेक्टर यम बिमली, साहित्यकार विनोद खनाल, चौतारीका पूर्व अध्यक्ष हस्त परियारसहित विभिन्न विद्यालयका प्रतिनिधि, विद्यार्थी र सरोकारवालाको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा जेन्जी आन्दोलनलाई नजिकबाट नियालेका युवा गर्व श्रेष्ठले आफ्नो अनुभव सुनाउँदै “अब भ्रष्टाचार गर्नुअघि दुईपटक जेन्जीको सम्झना गर्ने दिन आएको” उल्लेख गर्नुभयो।














