बिर्तामोड, झापा ।भरत प्रसाई , जेनजी आन्दोलनपश्चात उत्पन्न परिस्थितिलाई सहज बनाउँदै शान्ति स्थापना र हाल अवरुद्ध सेवा प्रवाहलाई पुनः सुचारु गर्न नागरिक समाज, निजी क्षेत्र, अधिकारकर्मी, सञ्चारकर्मी तथा सुरक्षासंस्थासहित सरोकारवालाले दृढ प्रतिबद्धता जनाएका छन् ।

IMG_6287

मंगलवार प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको उपस्थितिमा बिर्तामोडमा बसेको बैठकमा सबै सरोकारवालाले समाजमा शान्ति–सुरक्षा कायम गरी त्रसित अवस्थालाई अन्त्य गर्दै बैकल्पिक व्यवस्थासहित सेवा प्रवाहलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गरेका हुन् ।

बैठकमा प्रजिअ अधिकारीले सुरक्षाको प्राथमिकतामा जोड दिँदै समाजलाई विभाजन गर्ने कुनै गतिविधि नगरी एकतावद्ध भएर अघि बढ्न आग्रह गरे ।

उनले नागरिक स्तरबाट गरिएको सहयोगलाई सराहना गर्दै कालोबजारी वा गैरकानूनी कार्यमा संलग्न जो कोहीमाथि तत्काल कारबाही गर्ने चेतावनी दिए ।

झापा जिल्ला प्रहरी प्रमुख राजन लिम्बूले संरचनागत क्षति हुँदा पनि उच्च मनोबलका साथ अपराध नियन्त्रणमा प्रहरी सक्रिय रहेको बताए ।
उनले दमक र अनारमनीमा शीघ्र प्रहरी पुनःस्थापना हुने जानकारी गराउँदै कुनै आपराधिक गतिविधि भए तत्काल सूचना दिन आग्रह गरे ।



IMG_6294
सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले सुरक्षाकर्मीका वर्दी र हतियार लुटपाट भएकाले चोरी–लुटजस्ता घटना हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरे ।

मानव अधिकार सञ्जालका संयोजक डा. रुपक प्रसाद खनाल, उद्योग वाणिज्य संघ झापाका अध्यक्ष राजु न्यौपाने, नेपाल वार एशोसिएसनका उपाध्यक्ष चित्रबहादुर मगर, त्रिवि प्राध्यापक संघ झापाका अध्यक्ष लिला अधिकारी, उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बा, एबीसी नेपालकी अध्यक्ष कञ्चना ढकाल सिटौला, खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष मेधराज वास्तोलालगायतले शान्ति–सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

यस्तै, नेपाल अलैंची व्यवसायी महासंघका पूर्वअध्यक्ष निर्मल भट्टराई, रोटरी क्लव अफ बिर्तामोडका अध्यक्ष प्रकाश शिवाकोटी, नेपाल रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष सजेश शिवाकोटी लगायतले सुरक्षाको मनोबल उच्च राख्न र क्षतिग्रस्त संरचनाको पुनःनिर्माणमा नागरिक स्तरबाट सहयोग गर्ने घोषणा गरे ।

बैठकमा सहभागी विभिन्न संघ–संस्था तथा दातृ निकायले अनारमनी इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको भवन पुनःनिर्माणका लागि आवश्यक सामग्री खरिदमा २८ लाख रुपैयाँ बराबरको सहयोग प्रतिबद्धता गरेका छन् ।

कार्यक्रममा नवीन गट्टानी, केदारनार गिरी, कविता शर्मा, अभयराजवंशी, टेकनाथ भण्डारी, युवराज कुँवर, संगीता रौनियार, ओमकृष्ण विमली, राजकुमार कार्की, धनबहादुर पन्धाकलगायतले पनि आ–आफ्नो तर्फबाट सहयोग गर्ने वाचा गरेका छन् ।

संवाद समूहद्वारा संयोजित उक्त बैठकले जेनजी आन्दोलनपछि समाजमा उत्पन्न त्रास कम गरी नागरिकलाई सुरक्षित र निश्चिन्त बनाउने दिशामा सबै सरोकारवालाको एकता आवश्यक रहेको निष्कर्ष निकालेको छ ।