बिर्तामोड । कङ्गारु एजुकेशन फाउण्डेशन, बिर्तामोड शाखाले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेका प्रहरी कार्यालयहरूको पुनःनिर्माण र मर्मतका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
संस्थाले इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको भवन पुनःनिर्माण तथा मर्मत सम्भारका लागि एक लाख ५१ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको फाउण्डेशनका रिजनल एसोशिएट डाइरेक्टर रोशन शाहले जानकारी दिए।
उनका अनुसार, पछिल्ला दिनमा प्रहरी नहुँदा बिर्तामोड क्षेत्रमा आपराधिक गतिविधि बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न प्रहरीको आवश्यकता रहेको भन्दै सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्ने निर्णय गरिएको हो।

कङ्गारु एजुकेशन फाउण्डेशनले विगत वर्षहरूमा पनि सामाजिक क्षेत्रमा विभिन्न सहयोग गर्दै आएको उल्लेख गर्दै शाहले यसपटक आन्दोलनमा क्षति पुगेका प्रहरी भवनको पुनःनिर्माणका लागि उक्त रकम प्रदान गर्न लागिएको बताए।
उनले केही दिनमै पुनःनिर्माण समितिलाई रकम हस्तान्तरण गर्ने जानकारी समेत दिए।
सो अवसरमा फाउण्डेशनका जेनेरल मेनेजर गोविन्द श्रेष्ठ, अपरेशन मेनेजर ईश्वर पोखरेल, पब्लिक रिलेशन अफिसर पुष्पलाल धमलालगायतले संस्थाले अस्ट्रेलिया, युके, अमेरिका, क्यानडा, डेनमार्क, न्युजिल्यान्डलगायतका मुलुकमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक परामर्शसहित पठाउँदै आएको जानकारी गराए।
आशन्न बिजया दशमी, तिहार, छठलगायतका पर्वको शुभकामना आदानप्रदान गरिएको उक्त कार्यक्रमको सञ्चालन बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलाले गरेका थिए।














