बिर्तामोड । भरत प्रसाई ,जेन्जी आन्दोलनमा घाइते भएका २१ वर्षिय सुनिल तामाङलाई एमआर आर टिमले नगद ३० हजार सहयोग हस्तान्तरण गरेको छ ।
जेन्जी आन्दोलनमा घाइते भएका २१ वर्षिय सुनिल तामाङलाई एमआर आर टिमले नगद ३० हजार सहयोग हस्तान्तरण गरेको छ ।
पत्रकार सम्मेलनको आयोजना गरि एमआर टिमका प्रतिनिधी विपिन आर्चाय, सरोज जोशी लगायतले सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
भदौ २३ र २४ गते देशव्यापी रूपमा सम्पन्न भएको जेनजी आन्दोलनमा भएको प्रहरी दमन र हस्तक्षेपका कारण पहिलो दिनमै करिब १०० जना घाइते र १९ जना सहिद भएका थिए।
यस अमानवीय घटनाप्रति गहिरो भर्त्सना गर्दै दोषीमाथि तत्काल कारबाहीको माग उठिरहेको छ।
यहीबीच, सहिद परिवार र घाइतेहरूको उपचार तथा सहायताका लागि कोरियामा रहेका नेपालीहरूले ‘एमआर टिम कोरिया’ मार्फत “ अभियान” सञ्चालन गरेका छन्।
राष्ट्रप्रति माया गर्ने प्रवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले संकलन गरेको रकम नेपालका विभिन्न जिल्लामा रहेका एमआरआर सदस्य तथा सामाजिक अभियन्तामार्फत प्रभावित परिवारलाई सहयोग वितरण गरिएको छ।
अभियान हालसम्म झापा, काठमाडौँ, पोखरा, चितवन लगायतका प्रभावित क्षेत्रमा सञ्चालन भइरहेको छ।
विशेषगरी झापा जिल्लामा पहिलो चरणमै एक जना सहिद परिवार र ९ जना घाइतेलाई सहयोग प्रदान गरिएको एमआर टिमले जनाएको छ।

यस क्रममा अर्जुनधाराका सहिद दिनेश राजवंशीका परिवारलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ भने बिर्तामोडका गोली लागेर घाइते भएका सुमित शाहलाई २० हजार रुपैयाँ सहयोग गरिएको छ।
त्यसैगरी, सुशान राना (पहेली), रिजन दाहाल (कन्काई), राजेश पोर्तेल (कन्काई), सुरेश खड्का (सूर्योदय), मस्ताकिन मिया (दमक), अनित तामाङ (झापा गाउँपालिका), सुनिल तामाङ (हल्दिबारी), विवेक दुनुवार (बिर्तामोड–२) र कप्तानबारीका एकजना घाइतेलाई जनही ३० हजार रुपैयाँ सहयोग गरिएको छ।
पहिलो चरणमा १० जनालाई सहयोग हस्तान्तरण गरिएको र आगामी दशैंलगत्तै बाँकी घाइतेहरूलाई पनि सहयोग वितरण गरिने अभियान संयोजक शरद जोशीले जानकारी दिनुभयो।
उहाँले यदि कुनै सहिद परिवार वा घाइते अझै आर्थिक अभावका कारण समस्यामा परिरहेका छन् भने तत्काल सम्पर्क गर्न आग्रह गर्नुभयो।
यो अभियानलाई सफल बनाउन कोरियामा रहेका नेपाली समुदाय, झापाका सामाजिक अभियन्ता समाजसेवी दिवाकर गुरुङ र प्रारम्भदेखि नै सक्रिय एमआरआर सदस्य विपिन आचार्यलाई विशेष धन्यवाद दिइएको छ।
सामाजिक सञ्जालमार्फत रमाइलोका लागि सुरु भएको एमआर टिम अहिले विपन्न, अभावग्रस्त र संकटमा परेका नेपालीहरूको सहारा बनेको छ।
नेपाललाई दु:ख पर्दा, नेपालीलाई पीडा हुँदा सक्रिय हुने एमआर टिमको उदाहरणीय योगदानलाई विभिन्न संघ–संस्थाले समेत प्रशंसा गरेका छन्।














