बिर्तामोड । भरत प्रसाई
साहित्य चौतारी नेपाल तथा ईसा बुक सेन्टरको संयुक्त आयोजनामा पठन संस्कृति विकासका लागि पुस्तक प्रदर्शनी, आसन्न पर्वहरूको शुभकामना आदानप्रदान तथा सर्जक–श्रष्टाहरूको चियापान कार्यक्रम सम्पन्न भएको छ।
पछिल्ला वर्षहरूमा पठन संस्कृतिमा आएको कमीलाई ध्यानमा राख्दै ईसा बुक सेन्टरले विगत तीन वर्षदेखि दशैंको पूर्वसन्ध्यामा पुस्तक मेला आयोजना गर्दै आएको छ।
प्रविधिको द्रुत विकास र मानिसको व्यस्त जीवनशैलीका कारण पढ्ने संस्कार हराउँदै गएको भन्दै यसलाई संरक्षण र विस्तार गर्न अभियानका रूपमा पुस्तक मेला सञ्चालन गरिएको संयोजक तथा ईसा बुक सेन्टरका सञ्चालक केशव मैनालीले बताए।
सो अवसरमा हालैको आन्दोलनमा सहादत प्राप्त गरेका जेन्जी शहीदहरूलाई स्मरण गरिएको थियो।
साहित्य चौतारी नेपालका संरक्षक एवं अध्यक्ष तथा नेपाल फिल्म सोसाइटी कोशी प्रदेश संयोजक देवीभक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेन्जी पुस्ताको प्रतिनिधित्व गर्दै साहित्य चौतारीकी कार्यसमिति सदस्य, गायक तथा नृत्याङ्गना मनिषा भट्टराईलाई प्रमुख अतिथि बनाइएको थियो।

पुस्ता हस्तान्तरणको माग उठिरहेको सन्दर्भमा साहित्य चौतारीकाे यो कदमलाई महत्वपूर्ण मानिएको छ।
साहित्य चौतारीका पूर्व सचिव स्व. डिमान विरहीको शव्द रचना रहेको स्वागत गीत अध्यक्ष देविभक्त श्रेष्ठ एवं साहित्य चौतारी कार्यसमिती परिवारका तर्फबाट प्रस्तुत गरिएको थियो ।
साहित्य चौतारीका उपाध्यक्ष तथा वरिष्ठ चित्रकार हिम्मत नेम्बाङले स्वागत मन्तव्य राख्दै कार्यक्रमको औचित्यमाथी प्रकाश पार्नुभएको थियो ।
उहाँले पठन संस्कृतिको विकासका लागि लेखक, पाठक र साहित्यिक श्रष्टाहरूले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्नेमा जोड दिए।
साहित्य चौतारीका अध्यक्ष देवीभक्त श्रेष्ठले आसन्न पर्वहरूको शुभकामना आदानप्रदान गर्दै पुस्तक मेलामा साहित्यकार, स्रष्टा र पाठकबीच संवाद गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरे।
उनले पुस्ता हस्तान्तरणको सन्दर्भमा साहित्य चौतारीमा निरन्तर छलफल चलिरहेको उल्लेख गर्दै नयाँ पुस्तालाई प्रोत्साहन दिने प्रतिबद्धता जनाए।

शिक्षक तथा पत्रकार धर्मेन्द्र मामाले पढ्ने संस्कार शिक्षा बुझेर मात्र सम्भव हुने भन्दै केवल "पढ्नुपर्छ" भन्ने भनाइले मात्रै बानी विकास नहुने टिप्पणी गरे।
कार्यक्रममा चित्रा पौडेलले गजल, खगेन्द्रा खुसीले पठन संस्कृति र लेखकको जिम्मेवारीबारे धारणा, मिना अधिकारीले कविता प्रस्तुत गरे। गायक तथा संगीतकार समीर खरेलले राष्ट्रिय गीत प्रस्तुत गर्दै वातावरणलाई भावुक बनाएका थिए।
यस्तै, सेक्मुरी फूल पुस्तकका लेखक मन योङहाङले आफ्नो कृति लेख्नुको उद्देश्यबारे प्रकाश पारे। उनले भाषाकाे पहिचान र संरक्षाणमा लेखककाे भुमिका अहम हुने बताए ।

नेपाल पत्रकार महासङ्घ झापा शाखाका उपाध्यक्ष तथा साहित्य चौतारीका प्रेस सल्लाहकार सुव्रत न्यौपानेले सञ्चार माध्यमले लेखक र पुस्तकलाई उचित स्थान नदिँदा स्रष्टा ओझेलमा परेको बताए।

कार्यक्रममा साहित्य चौतारीका वरिष्ठ सल्लाहकार हरिनारायण भट्टराई, वरिष्ठ साहित्यकार भवानी क्षेत्री, लेखिका एवं पूर्व सचिव खगेन्द्र खुसी, लेखक मन योङहाङ, साहित्यकार शान्तदेवी पौडेल, युवराज खरेल, मिना अधिकारी, राजेन्द्र तिम्सिना, युवराज कट्टेल , रमा सुवेदी, भुवन तामाङ, पत्रकार तीर्थ तिम्सिना, टीका सुवेदी, बासु आचार्य, गीतकार एवं साहित्यकार एनबी दाहाल, पत्रकार तथा साहित्य चौतारीका प्रेस सल्लाहकार भरत प्रसाईलगायत साहित्यकार, लेखक, पत्रकार र शिक्षकहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन साहित्य चौतारीका सचिव तुलसी निरौलाले गरेका थिए।














