कन्काई ।भरत प्रसाई
कन्काई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले हालै माई र बिरिङ खोलामा आएको बाढीले स्थानीय बासिन्दाका घर र जमिनमा पुर्याएको क्षतिको स्थलगत अनुगमन गर्नुभएको छ।
अनुगमनका क्रममा उहाँले टेक्रा खोलाको कटानका कारण कन्काई क्षेत्रका बासिन्दा प्रभावित भएको बताउनुभयो।
नगरप्रमुख पोखरेलका अनुसार कन्काई नगर क्षेत्रभन्दा शिवशताक्षी नगरपालिकातर्फ जमिनको कटान बढी भएको छ। कन्काईका स्थानीय बासिन्दाको जमिन शिवशताक्षी नगरपालिकामा पर्ने भएकाले सो कटानले कन्काईबासीलाई समेत असर पु¥याएको उहाँको भनाइ छ।
उहाँले विगतका वर्षहरूमा कटान न्यूनीकरणका लागि केही बजेट विनियोजन गरिएको उल्लेख गर्दै जनताको समस्या समाधान र विपत् व्यवस्थापनमा नगरपालिका निरन्तर क्रियाशील रहने बताउनुभयो।
नगरप्रमुख पोखरेलले आजदेखि मौसम केही सुधारिएकोले थप ठूलो समस्या नआउने आशा व्यक्त गर्नुभयो।
साथै, सम्भावित जोखिमलाई ध्यानमा राख्दै खोलाका बाँध तथा तटबन्ध व्यवस्थापनमा नगरपालिका सक्रिय रूपमा लाग्ने पनि जानकारी दिनुभयो।
उहाँले पुलभन्दा दक्षिणतर्फ रहेका खेतीयोग्य जमिन र बस्तीलाई सुरक्षित राख्न दीर्घकालीन योजना अनुसार खोलाको व्यवस्थापन गरिने प्रतिबद्धता जनाउनुभयो।













