झापा ।  भरत भाबुक प्रसाई 

साहित्य चौतारी नेपाल, झापाले नेपालीहरूको महान् चाड बडा दशैंको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमाको दिन संस्थाका मानार्थ सल्लाहकार, अभिनन्दित सर्जक एवं अभिभावक कोमलप्रसाद पोखरेलको हातबाट टीका–जमरा ग्रहण गर्दै यस वर्षको बडा दशैंलाई बिदा गरेको छ।

IMG_6883कार्यक्रमको सुरुवात अघि साहित्य चौतारी झापाले जेन्जी आन्दोलनमा सहिद भएका युवाहरू, बाढी–पहिरोका कारण ज्यान गुमाएका नागरिक तथा सम्पूर्ण पितृहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरेको थियो।

झापाको सुरुङ्गास्थित पोखरेलको निजी निवासमा साहित्य चौतारी परिवार र साहित्यकारहरूले उहाँको हातबाट टीका ग्रहण गरेका थिए।

IMG_7017

उक्त अवसरमा संस्थाका संरक्षक, अध्यक्ष तथा नेपाल फिल्म सोसाइटी कोशी प्रदेश संयोजक देवीभक्त श्रेष्ठले विगतका वर्षझैं यस वर्ष पनि अग्रज र जेष्ठ स्रष्टाबाट आशीर्वाद ग्रहण गर्ने परम्परालाई निरन्तरता दिइएको बताउनुभयो।

श्रेष्ठका अनुसार, "सर्जक र स्रष्टाको सम्मान गर्दै उहाँहरूबाट प्रेरणा र आशीर्वाद ग्रहण गर्नु नै हाम्रो सांस्कृतिक र साहित्यिक परम्पराको सुन्दर निरन्तरता हो," भन्दै कार्यक्रमको उद्देश्य स्पष्ट पार्नुभयो।

IMG_7007कार्यक्रमको अध्यक्षता देवीभक्त श्रेष्ठ र प्रमुख आतिथ्य अग्रज साहित्यकार कोषराज न्यौपानेले गर्नुभएको थियो।

साहित्य चौतारीका पूर्व सचिव डिकमान बिरहीद्वारा रचित ‘साहित्य चौतारी स्वागत गीत’ अध्यक्ष श्रेष्ठ र गायिका मनिषा भट्टराईले संयुक्त रूपमा प्रस्तुत गर्दै अतिथिहरूलाई स्वागत गरेका थिए।

कार्यक्रममा उपाध्यक्ष तथा नेपाल फिल्म सोसाइटी कोशी प्रदेशका उपाध्यक्ष हिम्मत नेम्बाङले शब्दद्वारा स्वागत मन्तव्य राख्नुभएको थियो।

प्रमुख आतिथ्य कोषराज न्यौपानेले ब्यानर पढी कार्यक्रम उद्घाटन गर्नुभएको थियो भने अध्यक्ष श्रेष्ठले देवी वन्दना र भक्तिरसपूर्ण भजनहरूद्वारा कार्यक्रमलाई धार्मिक र सांस्कृतिक रौनकता प्रदान गर्नुभयो।

IMG_6887कार्यक्रममा बोल्दै अग्रज साहित्यकार पुण्यप्रसाद खरेलले भाषाविद्, शिक्षक, लेखक तथा समाजसेवी व्यक्तित्व कोमलप्रसाद पोखरेलको योगदानको प्रशंसा गर्दै उहाँ “झापाली माटोले जन्म दिएको एक विलक्षण स्रष्टा” भएको उल्लेख गर्नुभयो।

त्यस्तै, साहित्यकार हरिनारायण भट्टराईले साहित्य चौतारीले स्रष्टा र सर्जकहरूको सम्मानमा खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै, “कोमलप्रसाद पोखरेल भाषा र साहित्यका निपुण ज्ञाता हुनुहुन्छ, उहाँको हातबाट टीका ग्रहण गर्नु चौतारी परिवारका लागि गर्वको विषय हो,” भन्नुभयो।

कार्यक्रममा लोकगायक तथा सल्लाहकार अनिरुद्र ओलीले कोजाग्रत पूर्णिमाको दिन अग्रज स्रष्टाबाट आशीर्वाद ग्रहण गर्ने परम्परा समाजका लागि “सकारात्मक सन्देश” भएको टिप्पणी गर्नुभयो।


559170222_1393674092759406_220629691273035458_nकार्यक्रममा मिना अधिकारी, चित्रा पौडेल, कल्पना भट्टराई, र मनिषा भट्टराईले रचना र गीत प्रस्तुत गरी कार्यक्रमलाई सांगीतिक र काव्यात्मक रंग दिएका थिए।

त्यस्तै, त्रिफला पुस्तकालयका प्रेमप्रकाश फलाहरीले यो कार्यक्रम “अद्वितीय र प्रेरणादायी” रहेको बताउँदै साहित्य चौतारीको निरन्तर योगदानप्रति धन्यवाद ज्ञापन गर्नुभयो।

प्रमुख अतिथि कोषराज न्यौपानेले अन्त्यमा बोल्दै कला, साहित्य र संस्कृतिको संरक्षणमा साहित्य चौतारीले पुर्‍याउँदै आएको योगदानको खुलेर प्रशंसा गर्नुभयो।

उहाँले समाजमा देखिएका केही धार्मिक विचलनप्रति पनि ध्यानाकर्षण गर्दै धर्मशास्त्रले निर्दिष्ट गरेको मार्गमा हिँड्न आग्रह गर्नुभयो।

IMG_6895

कार्यक्रममा पत्रकार तथा साहित्य चौतारीका पूर्व अध्यक्ष केशव आचार्य, साहित्यकार भवानी क्षेत्री, कन्काई प्रतिभा प्रतिष्ठानका अध्यक्ष जीवननाथ सुवेदी, शिक्षाविद् चन्द्रप्रसाद प्रसाई, साहित्यकार चित्रा पौडेल, राजेन्द्र तिम्सिना,  पत्रकार तथा मोफसल अनलाइनका सम्पादक , भरत भावुक प्रसाई,साहित्यकार मिना अधिकारी, कल्पना भट्टराई, गायिका मनिषा भट्टराई, कुमार श्रेष्ठ लगायत झापाका दर्जनौं स्रष्टा तथा साहित्यकारहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रमको सञ्चालन साहित्य चौतारीका सचिव तथा नेपाल फिल्म सोसाइटी कोशी प्रदेशका सचिव तुलसीप्रसाद निरौलाले गर्नुभएको थियो।

अन्त्यमा अध्यक्ष देवीभक्त श्रेष्ठले पितृहरूको आशीर्वादले आगामी दिनहरूमा पनि यस्तै परम्परालाई निरन्तरता दिन सकियोस् भन्ने कामना गर्दै कार्यक्रमको समापन गर्नुभयो ।