— भरत प्रसाई

बिर्तामोड, झापा । नेपाल–भारतको साझा सांस्कृतिक अभियान ‘साउती’ द्वारा आयोजना गरिएको पन्ध्रौं साउती हास्य–व्यङ्ग्य कविगोष्ठी शनिबार बिर्तामोडस्थित साहित्य चौतारी झापाको सभाहलमा सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता कवि तुलसी भट्टराईले गर्नुभएको थियो भने प्रमुख आतिथ्यका रूपमा डाक्टर तुलसी भट्टराई उपस्थित रहनुभएको थियो । कार्यक्रमको सुरुवातमा आयोजक तथा प्रायोजकको तर्फबाट साहित्य चौतारी बिर्तामोडका प्रमुख संस्थापक–संरक्षक एवं अध्यक्ष देवीभक्त श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमकै विशेष आकर्षणका रूपमा ‘साउती–१५’ शीर्षकमा प्रकाशित हास्य–व्यङ्ग्य कविता सङ्कलनको सामूहिक विमोचन दर्शक तथा श्रोता हातबाट सम्पन्न गरिएको थियो । उक्त कृतिको समीक्षा प्रमुख अतिथि डा. तुलसी भट्टराईले गर्नुभएको थियो ।

IMG_7483

भारतको सिलगढीबाट सम्पादित र प्रकाशित हुँदै आएको साउतीको यस पन्ध्रौं श्रृङ्खलामा नेपाल र भारतका गरी १२ जना कविहरूका हास्य–व्यङ्ग्य कविताहरू समावेश छन् ।

IMG_7243

कार्यक्रममा सहभागी १० जना कविहरूले वाचन गरेका उत्कृष्ट कविताहरूलाई प्रत्यक्ष श्रोता मूल्याङ्कनको आधारमा नगदसहित पुरस्कृत गरिएको साउतीका संयोजक, सम्पादक, सङ्कलक तथा प्रकाशक मुक्तिप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

पुरस्कृत कविहरू यसप्रकार छन् —

  1. लक्ष्मण गाम्नागे (काठमाडौं)“त्यता नहेर्नू, यता हेर्नू” — प्रथम

  2. उषा शर्मा (गान्तोक, सिक्किम)“बुढ्यौली व्यथा” — द्वितीय

  3. दीपक दवाडी (तेजपुर, आसाम)“लोग्ने” — तृतीय

  4. कोमलप्रसाद पोखरेल (झापा)“सक्तैन यो कोमल” — चतुर्थ

  5. महिम आचार्य (तेजपुर, आसाम)“भाग्यमानीको फराकिलो निधार” — पंचम

  6. रत्न लक्सम सुब्बा (गान्तोक, सिक्किम)“बोको र बेहुलो” — षष्ठ

  7. खगेन्द्र नेउपाने (झापा)“ल्याथ्रो साँढे” — सप्तम

  8. ललिता जोशी छेत्री (सिलगढी)“मगन्ते” — अष्टम

  9. देवीचरण भण्डारी (झापा)“झोलेचम्चे हैन” — नवौं

  10. विनोद खनाल (झापा)पाँच मुक्तक — दशौं


    IMG_7452

सर्वश्रेष्ठ कविहरूलाई प्रमाणपत्र, उपहार र नगद पुरस्कार प्रदान गरिएको थियो भने सहभागी सात उत्कृष्ट श्रोतालाई पनि विशेष सम्मान गरिएको थियो ।

त्यस अवसरमा सुरुङ्गाका प्रख्यात कवि कोमलप्रसाद पोखरेललाई ‘साउती विशेष सम्मान’ प्रदान गरिएको थियो ।

IMG_7434

कार्यक्रमको बीचमा भारतकी चर्चित गायिका जुनु गौतमले कवि जीवन अधिकारीको शब्द–सङ्गीतमा आधारित गीत प्रस्तुत गर्दै सभाहललाई उत्सवमय बनाइदिएकी थिइन् ।

01K79Q41RBGGVDJ52H249D13JC

साहित्यिक सन्देश बोकेको उक्त कार्यक्रममा कुबेर दाहालचन्द्रप्रकाश गिरीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने सम्पादकीय मन्तव्य मुक्तिप्रसाद उपाध्यायले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन ललिता जोशीले आकर्षक ढङ्गले गरेकी थिइन् ।

सन् २०१० तिर भारतको सिलगढीबाट कवि मुक्तिप्रसाद उपाध्यायको पहलमा साउती हास्य–व्यङ्ग्य अभियानको थालनी गरिएको थियो । नेपाली भाषा, साहित्य र हास्यव्यङ्ग्य विधाको प्रचार–प्रसारका लागि स्थापना गरिएको यस अभियानले अहिलेसम्म भारत र नेपालको विभिन्न सहरहरूमा १५ श्रृङ्खलासम्मका कविगोष्ठीहरू सम्पन्न गरिसकेको छ .

साहित्य चौतारी झापाले आयोजना गरेको कार्यक्रम साहित्यिक भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा नेपाल र भारतका ख्यातिप्राप्त साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो।

IMG_7370

कार्यक्रममा सिक्किम गान्तोकबाट साहित्यकार मुक्ति बराल र उषा शर्मा, साहित्यकार चक्रपाणी बराल, डन्डीराज घिमिरे, उषा गुरुङ, भारतको सिलगुडीबाट आएका साहित्यकार गणेश भट्टराई, लक्ष्मण नेपाल, साथै प्रेमप्रकाश पलारी, लोकनाथ पौडेल, केशव आचार्य, भवानी क्षेत्री, सुधा भट्टराई, ललिता जोशी क्षेत्री बराल,सल्लाहकार संयोजक राजेन्द्र संग्रौला, सल्लाहकार अनिरुद्र ओली, चौतारी नेपाल झापा शाखाका वरिष्ठ उपाध्यक्ष तथा फिल्म सोसाइटीका उपाध्यक्ष हिम्मत  नेम्बाङ , चौतारीका सचिव तुलसीप्रसाद निरौला, नेपाल पत्रकार महासंघका उपाध्यक्ष सुब्रत न्यौपाने, पत्रकार ओमनारायण राजवंशी   लगायतका सर्जकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा साहित्य चौतारी नेपालका सम्पूर्ण कार्यसमिति सदस्यहरू, भारत र नेपालका लेखक, साहित्यकार तथा कविहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।

साउतीका कार्यक्रमहरूमा दुवै देशका कविहरूको साझा सहभागिता रहँदै आएको छ, जसले नेपाली भाषाको क्षेत्रीय एकता र सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको मानिन्छ ।