काठमाडौँ । नेकपा एमालेको दोस्रो दिनको सचिवालय बैठकमा पनि नेताहरूले अध्यक्ष केपी शर्मा ओलीलाई विकसित परिस्थितिमा भूमिका फेर्न सुझाव दिए ।
उनीहरूले पार्टी पुनर्गठनका सवालमा ओलीले अध्यक्ष पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नु हितकर हुने सुझाव दिएका हुन् । त्यसो गर्दा पार्टी र ओली स्वयंका लागि फाइदा हुने उनीहरूको बुझाइ छ ।
शुक्रबारबाट सुरु सचिवालय बैठकको दोस्रो दिन आइतबार नेताहरूले अध्यक्ष ओलीलाई यस्तो सुझाव दिएका हुन् । आइतबारको बैठकमा सचिव योगेश भट्टराई र गोकर्ण विष्टले ओलीलाई मार्ग प्रशस्त गर्न सुझाव दिए भने छविलाल विश्वकर्मा र पद्मा आर्यालले छिटोभन्दा छिटो महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्नुपर्ने बताए ।
‘पार्टीको भविष्य र तपाईंकै हितको लागि पनि तपाईंले सम्मानजनक निकास दिनुपर्छ,’ भट्टराई र विष्टले बैठकमा राखेको भनाई उद्धृत गर्दै एक नेताले भने, ‘त्यसो गर्दा मात्र पार्टीलाई नै फाइदा हुन्छ ।’
त्यसक्रममा नेताहरूले आफ्नै नेतृत्वको सरकार हुँदा पनि जनताको अपेक्षाअनुसार काम गर्न नसकेको, गरेका काम पनि जनतासमक्ष पुर्याउन नसकेको, बेरोजगारी बढ्दा युवाहरूमा आक्रोश बढेको भन्दै सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयका कारण विद्रोह गर्ने स्थिति आएको बताएका थिए ।
त्यसक्रममा उनीहरूले फेरिएको परिस्थितिमा तोकिएको समयमा निर्वाचन गर्न सरकारलाई दबाब दिनुपर्ने धारणा राखेका थिए । तर बैठकमा ओलीले प्रतिनिधि सभा पुनर्स्थापानाका लागि पहल गर्नुपर्ने जवाफ दिएका थिए । निर्वाचनको वातावरण नभएकाले पुनर्स्थापनातर्फ जानुको विकल्प नभएको ओलीको भनाइ थियो ।
बैठक समापन गर्दै ओलीले सचिव भट्टराई र विष्टतर्फ संकेत गर्दै आफ्नो राजीनामा मागेकोमा केही चर्को सुनिए । ‘आज दुई जना साथीहरूले मेरो राजीनामा माग्नुभयो, अरू साथीहरूले पुनगर्ठन भन्नुभयो,’ ओलीले भट्टराई र विष्टतर्फ संकेत गर्दै भनेका थिए ।
बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले मंसिर अन्तिम साता ११औँ महाधिवेशन गर्ने बैठकले प्रस्ताव गरेको जानकारी दिए । साथै उनले सरकार आफै निर्वाचनको वातावरण बनाउने भन्दा पनि बिगार्नेतिर उन्मुख भएको बैठकले ठहर गरेको बताएका छन् ।
यसअघि शुक्रबारको बैठकमा उपाध्यक्षहरू ईश्वर पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, विष्णु पौडेल र रामबहादुर थापाले पनि ओलीलाई मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए । एमालेमा जेनजी विद्रोहपछि आयोजक कमिटीमार्फत महाधिवेशनमा जानुपर्ने आवाज उठे पनि सचिवालयको निर्णयसँग एमाले ओलीकै नेतृत्वमा ११औँ महाधिवेशनमा जाने निश्चित भएको छ ।














