झापा । भरत भाुबक प्रसाई ,

भाषा, साहित्य, संगीत, कला, संस्कृति र धर्म–आध्यात्मिक क्षेत्रका विद्वान् व्यक्तित्वहरूको सक्रिय सहभागितासहित साहित्य चौतारी नेपाल झापा शाखाले यही कार्तिक ५ गते दक्षिणा रहित सडक देउसी खेल्ने भएको छ।


संस्थाका अध्यक्ष तथा संरक्षक देवीभक्त श्रेष्ठका अनुसार साहित्य चौतारीले धर्म र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले विगत २५ वर्षदेखि निरन्तर दक्षिणा रहित देउसी भैलो कार्यक्रम गर्दै आएको हो।

गत वर्षझैँ यसपालि पनि देउसीमार्फत युवा पुस्तालाई संस्कृतिसँग जोड्ने, भाषा, साहित्य र कलाको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ।


अध्यक्ष श्रेष्ठले भन्नुभयो, “यो परम्परा हाम्रो संस्कृतिको पहिचान हो। जेन्जी पुस्तामा मौलिक संस्कार पुस्तान्तरण गर्दै २५ वर्षअघिदेखि सुरु गरिएको यो अभियान निरन्तरता पाउँदै आएको छ।”


कार्यक्रम गोवर्धन पूजाको दिन, आगामी कार्तिक ५ गते बिहान १०:४५ बजेबाट सुरु हुनेछ।

देउसी टोलीले नगर परिक्रमा गर्दै अन्त्यमा होटल हिकोला हेरिटेजको खुला प्राङ्गणमा अन्य सांस्कृतिक कार्यक्रमहरू तथा कृति विमोचन समारोह सम्पन्न गर्ने जनाएको छ।

IMG_7808

यस वर्षको कार्यक्रम साहित्य चौतारी नेपाल झापा र नेपाल फिल्म सोसाइटी कोशी प्रदेशको संयुक्त आयोजनामा हुनेछ।

उक्त कार्यक्रममा ११७औं लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्ती, लोकगीत सम्राट् एलपी जोशीको जन्मजयन्ती, तथा श्रद्धेय सरोज ओली स्मृति दिवस पनि मनाइनेछ। साथै, ‘अतितका पाना’ कृति विमोचन समेत गरिनेछ।


कार्यक्रममा सुरुङ्गा कन्काई प्रज्ञा प्रतिष्ठानका सदस्य निर्मल खतिवडा प्रमुख अतिथिका रूपमा र जयनारायण भट्टराई विशिष्ट अतिथिका रूपमा सहभागी हुनेछन्।


नेपाल फिल्म सोसाइटी कोशी प्रदेश कार्यसमितिको बैठकले माेफसल अनलाइनका प्रकाशक तथा सम्पादक भरत प्रसाईलाई मिडिया कोअर्डिनेटरका रूपमा सर्वसम्मत रूपमा मनोनीत गरेको छ।

नियुक्तिपछि प्रसाईले आफूले पाएको जिम्मेवारीलाई जवाफदेहिताका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 दक्षिणा  रहित देउसी भैलो कार्यक्रमको संयोजन जिम्मेवारी साहित्य चौतारीका सल्लाहकार तथा लोकगायक अनीरुद्र  ओलीलाई दिइएको छ। 


यसैगरी कार्यक्रमलाई होटल हिकोला हेरिटेजले प्रायोजन गरेको छ।


कार्यक्रम तयारी सम्बन्धी बैठकमा साहित्य चौतारी झापा शाखाका पदाधिकारी, सल्लाहकार, नेपाल फिल्म सोसाइटी कोशी प्रदेश शाखाका कार्यसमिति सदस्यहरू तथा अन्य सरोकारवाला उपस्थित थिए।


 साहित्य चौतारी झापा शाखाका पदाधिकारी, नेपाल फिल्म सोसाइटी कोशी प्रदेश शाखाका कार्यसमिति सदस्यहरूले कार्यक्रमलाई भव्य र सफल बनाउन एक्यबद्ध समर्थन र सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।