झापा, कात्तिक २ । भरत भाबुक प्रसाई ,
प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाको बैठक आइतबार सम्पन्न भएको छ। जिल्ला अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा तथा संगठनका केन्द्रीय सदस्य एवं झापा जिल्ला इन्चार्ज माधव विद्रोहीको प्रमुख आतिथ्यतामा भएको बैठक जिल्ला कमिटीको कार्यालयमा सम्पन्न भएको हो।

बैठकले गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका २२ जना प्रदर्शनकारी, तीन जना प्रहरी र अन्य मृतकहरू प्रती गहिरो श्रद्धाञ्जली अर्पण गरेको छ। त्यस्तै, आन्दोलनका क्रममा घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ।
बैठकले जेन्जी आन्दोलनपश्चात देशभरका सञ्चारकर्मी र सञ्चार माध्यमहरू असुरक्षित बन्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। प्रेस चौतारी नेपाल झापाले पत्रकारको सुरक्षा, स्वतन्त्रता र निष्पक्ष पत्रकारिताको वातावरण सुनिश्चित गर्न स्थानीय प्रशासन र सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।

बैठकको निष्कर्षमा भनिएको छ, “पत्रकार र आम नागरिकको शान्ति सुरक्षालाई प्राथमिकतामा राखी कुनै पनि किसिमको दमन, धम्की वा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रतिबन्ध स्वीकार्य हुने छैन।”
संगठनले लोकतान्त्रिक मूल्य–मान्यता र स्वतन्त्र पत्रकारिताको पक्षमा निरन्तर आवाज उठाउने प्रतिबद्धता पनि जनाएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा जिल्ला इन्चार्ज माधव विद्रोहीले पछिल्लो समय पत्रकारहरू त्रासपूर्ण वातावरणमा समाचार सम्प्रेषण गर्न बाध्य भएको बताउँदै, यस्तो अवस्थालाई चिर्न स्थानीय प्रशासनले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।
उहाँले अभिव्यक्ति स्वतन्त्रताको घाँटी निमोठ्ने कार्य अस्वीकार्य भएको बताउँदै, विषम परिस्थितिमा पनि पत्रकारहरूले संयमता अपनाई जिम्मेवार पत्रकारिता गर्नुपर्ने सुझाव दिनुभयो।
बैठकमा प्रेस चौतारी नेपाल झापा जिल्ला कार्यसमिति परिवारका सदस्यहरू र केन्द्रीय प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।
विज्ञप्तिमा बैठकका निर्णयहरूबारे जानकारी दिँदै जिल्ला सचिव युवराज आचार्यले हस्ताक्षर गर्नुभएको छ।














