बिर्तामोड, झापा। साहित्य चौतारी बिर्तामोड झापा नेपालले यस वर्ष पनि दक्षिणा नलिई सामूहिक सडक देउसी कार्यक्रम भव्य रूपमा सम्पन्न गर्दै तिहार पर्वलाई बिदाई गरेको छ।

साहित्य चौतारीले सन् २०५८ सालदेखि निरन्तर रूपमा खेल्दै आएको दक्षिणारहित देउसी भैलो कार्यक्रमलाई यसपटक पनि निरन्तरता दिइएको अध्यक्ष तथा संस्थापक संरक्षक देविभक्त श्रेष्ठले जानकारी दिए।

कार्यक्रमको औपचारिक सुरुवात बिर्तामोडस्थित होटल हिकोला हेरिटेजको प्राङ्गणबाट गरिएको थियो।

साहित्य चौतारीका अध्यक्ष श्रेष्ठको अध्यक्षता र कन्काई प्रज्ञा प्रतिष्ठानका सदस्य तथा कनकाई माविका पूर्वप्रधानाध्यापक निर्मल खतिवडाको प्रमुख आतिथ्यमा देउसीको प्रारम्भ गरिएको हो।








अध्यक्ष श्रेष्ठ, प्रमुख अतिथि खतिवडा, मानार्थ सल्लाहकार लोकनाथ पौड्याल, तथा अन्य अतिथिहरूले देउसी भट्याएर कार्यक्रमको शुभारम्भ गरेका थिए। देउसी टोलीले नगर परिक्रमा गरी पुनः सोही स्थानमा फर्किएर औपचारिक कार्यक्रम सम्पन्न गरेको थियो।

स्वागत मन्तव्यका क्रममा संयोजक तथा सल्लाहकार लोकगायक अनिरुद्र ओलीले देउसी परम्पराको सामाजिक र सांस्कृतिक महत्वमाथि प्रकाश पारे।


कार्यक्रमका अध्यक्ष श्रेष्ठले विगत २५ वर्षदेखि धर्म, संस्कृति र मौलिक परम्पराको संरक्षणका लागि साहित्य चौतारीले “दक्षिणारहित देउसी” परम्परालाई निरन्तरता दिइरहेको बताए।


उनले भने, “यो परम्परा हाम्रो संस्कृतिको पहिचान हो, जसले नयाँ पुस्तामा मौलिक संस्कार पुस्तान्तरण गर्न मद्दत गरेको छ।

”कार्यक्रमको अवसरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्मजयन्ती, लोकगीत सम्राट एल।पी। जोशीको ८९औं जन्मजयन्ती, र संस्थापक सल्लाहकार सरोज ओलीको प्रथम स्मृति दिवस मनाइएको थियो।

सप्तक संगीत विद्यालयका संस्थापक सरोज वत्स र उनका विद्यार्थीहरूले गीत प्रस्तुत गर्दै देवकोटा र जोशीलाई स्मरण गरे भने, सदस्य मनिषा भट्टराईले देउसी गीतमा नृत्य प्रस्तुति दिइन्।


सोही समारोहमा वयोवृद्ध साहित्यकार कुबेरनाथ पौड्यालको ‘अतीतका पाना पल्टाउँदा’ कृतिको लोकार्पण पनि गरिएको थियो।

कृतिको विमोचन अध्यक्ष श्रेष्ठ, प्रमुख अतिथि खतिवडा, सर्जक जयनारायण भट्टराई, लोकनाथ पौड्याल, पुण्य बराल, हरिनारायण भट्टराई, र अन्य साहित्यकारहरूको उपस्थितिमा गरिएको थियो।

समीक्षक पुण्य बरालले पुस्तकको समीक्षा गर्दै लेखकको योगदानको प्रशंसा गरे। लेखक पौड्यालले “योगी नरहरीनाथको प्रेरणाले कृति लेखिएको” बताएका थिए।


सम्पादक मेघनाथ बन्धुले सहयोगीहरूप्रति आभार व्यक्त गरे भने लेखककी बुहारी मुना काफ्लेले साहित्य चौतारीप्रति कृतज्ञता प्रकट गर्दै संस्थाको भूमिकाको सराहना गरिन्।

प्रमुख अतिथि निर्मल खतिवडाले साहित्य चौतारीले २६ औँ वर्षमा प्रवेश गर्दै साहित्य, संस्कृति र सृजनाको साझा मञ्चका रूपमा आफूलाई स्थापित गरेको बताए।


उनले भने, “साहित्य चौतारीले दक्षिणा नलिई देउसी खेलेर देउसीको नाममा पैसा माग्ने प्रवृत्तिलाई सांस्कृतिक झापड हानेको छ।”कार्यक्रमको आयोजना साहित्य चौतारी बिर्तामोड झापा नेपाल र नेपाल फिल्म सोसाइटी कोशी प्रदेशको संयुक्त पहलमा गरिएको थियो।

कार्यक्रमको सञ्चालन सचिव तुलसीप्रसाद निरौलाले गरेका थिए। सहभागीहरूलाई सेलरोटी सहितको आतिथ्य गरिएको थियो।

भाषा, साहित्य, संगीत, कला, संस्कृति तथा आध्यात्मिक क्षेत्रका विद्वान व्यक्तित्वहरूको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रमले नेपाली मौलिक संस्कृति संरक्षणमा निरन्तर सन्देश प्रवाह गरेको अध्यक्ष श्रेष्ठले बताए।

उनका अनुसार, “दक्षिणा रहित देउसी भैलो अब केवल झापाको होइन, सम्पूर्ण देशको गौरव बन्न सक्ने परम्पराको रूपमा विकसित हुँदैछ।”