बिर्तामोड ।  भरत प्रसाई ,
नेवा: पासा मुना पुच : बिर्तामोडको आयोजनामा नेपाल संवत् ११४६ न्हू दॅया भिन्तुना अर्थात नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम बिर्तामोडमा धुमधामपूर्वक सम्पन्न भएको छ।

नेवार समुदायको मौलिक संस्कृतिलाई जगेर्ना र भावी पुस्तामा परम्पराको निरन्तरता दिने उद्देश्यका साथ बिर्तामोड वडा नं ४ स्थित नेवा: छे भवनमा आयोजित कार्यक्रममा सांस्कृतिक झाँकी, धिमे बाजा, लाखे नाच, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम समेत गरिएको थियो।

कार्यक्रम संस्थाका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। उनले नेपाल संवत् केवल नेवार समुदायको मात्र नभई सम्पूर्ण नेपालीको गौरवशाली संवत् भएको उल्लेख गर्दै यसलाई राष्ट्रिय स्तरमा व्यवहारिकरूपमा लागू गर्न आग्रह गरे।
श्रेष्ठले राष्ट्रिय विभूति शंखधर साख्वलेले जनताको ऋण चुक्ता गरी सुरुवात गरेको नेपाल संवत् समानता, परोपकार र सहअस्तित्वको प्रतीक भएको बताए। उनले नेपाल सरकारले २०६९ सालमा नेपाल संवतलाई राष्ट्रिय संवतको रूपमा मान्यता दिए पनि व्यवहारमा विस्तार गर्न अझै राज्यको ध्यान आवश्यक रहेको उल्लेख गरे।


IMG_8063

कार्यक्रम संयोजक तारामणि श्रेष्ठले स्वागत मन्तव्य दिंदै नेपाल संवत् केवल नयाँ वर्षको उत्सव नभई, हाम्रो पहिचान र इतिहासको गौरवको प्रतीक भएको बताए। उनले नयाँ पुस्तालाई आफ्नै भाषा, लिपि र संस्कृति सिकाउने कार्यमा संस्थाले निरन्तर योगदान गर्दै आएको बताए।

सांस्कृतिक कार्यक्रमका प्रमुख अतिथि तथा नेवा: छे भवनका जग्गादाता श्यामकुमार ताम्राकारले नेपाल संवतको ऐतिहासिक महत्व र सांस्कृतिक निरन्तरतामाथि जोड दिए।

विशिष्ट अतिथिको रुपमा उपस्थित बिर्तामोड उद्योग वाणिज्य संघकी महिला उपाध्यक्ष गोमादेवी भट्टराईले विविधतामा एकता र मौलिकता नै नेपालको विशेषता भएको बताउँदै नेवार समुदायको योगदानप्रति कृतज्ञता व्यक्त गरिन्।

बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बास्तोलाले समाजमा परम्परा र संस्कृति नै आत्मपरिचयको माध्यम भएको बताए।

कार्यक्रममा शुभकामना मन्तव्यका साथै नेवा: समुदायका युवायुवतीहरूले परम्परागत पोशाकमा प्रस्तुत गरेका नृत्य, बाजागाजा र गीतहरूले कार्यक्रमलाई झनै आकर्षक बनाएका थिए।

शुभकामना आदानप्रदान कार्यक्रमपछि नेवा: छे भवनबाट सुरु गरिएको धिमे बाजा र लाखे नाचसहितको सांस्कृतिक र्‍यालीले बिर्तामोड बजार परिक्रमा गरेको थियो। र्‍यालीमा सहभागीहरूले “नेपाल संवत् हाम्रो पहिचान, हाम्रो गौरव” भन्ने नारा सहित नगरमा उत्सवमय माहोल सिर्जना गरेका थिए।


IMG_8061कार्यक्रममा बिर्तामोडका विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, समुदायका अगुवा, स्थानीयवासी, युवायुवती र बालबालिकाको उल्लेख्य उपस्थिति रहेको थियो।

नेवा: पासा मुना पुच : बिर्तामोडले हरेक वर्ष नेपाल संवतको अवसरमा यस किसिमको कार्यक्रम गर्दै आएको छ, जसले स्थानीय तहमा नेवार संस्कृतिको संरक्षण र प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव मिलन शाक्यले गरेका थिए।