७ कात्तिक, काठमाडौं । नेपाली महिला फुटबल टोलीले आज इरानसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

भारतको शिलोङस्थित जवहरलाल नेहरु रंगशालामा हुने खेल साँझ सवा ६ बजेदेखि सुरु हुनेछ ।

नेपालले उज्बेकिस्तानमा महिला एसियन कप छनोट खेलेपछि पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।

नेपाली टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले इरान राम्रो प्रतिद्वन्द्वी भएको र प्रतिस्पर्धात्मक खेल हुने उल्लेख गर्दै सकेसम्म जितकै लागि प्रयास गर्ने बताएकी छन् ।

इरानले गत ४ कात्तिकमा भएको खेलमा भारतलाई ३-० ले हराएको थियो ।

नेपाली टोलीले १० गते भारतसँग पनि मैत्रीपूर्ण खेल खेल्ने छ । त्यसपछि १३ कात्तिकमा भारतसँग अर्को एक अनअफिसियल खेल पनि हुनेछ ।

फिफाको वरियतामा भारत ६३औं, इरान ७०औं तथा नेपाल ८९औं स्थानमा छन् ।