काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले मन्त्रालयभित्र आर्थिक र प्रशासनिक पारदर्शिता कायम राख्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।
पदभार ग्रहणलगत्तै मन्त्रालयका कर्मचारीहरुसँगको छलफलमा बोल्दै मन्त्री गौतमले यस्तो निर्देशन दिनुभएको हो ।
मन्त्रालयको कुनैपनि तहबाट आर्थिक अनियमितता एवं भ्रष्टाचार नगर्न उहाँले चेतावनी दिनुभयो । उहाँले मन्त्रालयअन्तर्गतका शाखा एवं विभागहरुबाट प्रवाह हुने सेवा समेत नागरिकमैत्री बनाउन निर्देशन दिनुभयो । उहाँले सेवा प्रवाहका क्रममा नागरिकलाई झुल्याउनु समेत भ्रष्टाचार भएको भन्दै यस्तो कार्य नगर्न चेतावनी दिनुभयो ।
पूर्वस्वास्थ्य सचिव समेत रहनुभएकी उहाँले तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको सल्लाहकार समेत रहनुभएको थियो ।













