काठमाण्डाै – नवनियुक्त दुई जना मन्त्रीले पद तथा गाेपनीयताकाे शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई शपथ ग्रहण गराउनुभएको हो ।
यसअघि प्रधानमन्त्री सुशीला कार्कीले गणपतिलाल श्रेष्ठ र खगेन्द्र सुनारलाई पनि मन्त्रीमा सिफारिश गर्नुभएको थियो । तर अदालतमा मुद्दा विचाराधीन रहेको सार्वजनिक भएपछि प्रधानमन्त्री कार्कीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा सिफारिश सुनारको नाम हटाउनुभयो । यस्तै भूमि व्यवस्था तथा सहकारीमन्त्रीमा सिफारिश गरिएका श्रेष्ठको नाम अन्तिम समयमा फिर्ता भएको छ । श्रेष्ठको नाम फिर्ता हुनुको कारण खुलाइएको छैन ।
योसहित कार्कीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । अब मन्त्रिपरिषद् १० सदस्यीय बनेको छ । आज नियुक्त स्वास्थ्यमन्त्री गाैतम प्रसूति तथा स्त्री रोग विशेषज्ञ एवम् भूतपूर्व स्वास्थ्यसचिव हुनुहुन्छ भने युवामन्त्री गुप्ता परोपकारी सङ्गठन हन्ड्रेड ग्रुपका संस्थापक हुनुहुन्छ ।
अहिले सङ्घीय कार्यपालिकामा २१ वटा मन्त्रालय छन् । तर मन्त्री कार्कीले यसअघि मन्त्रिमण्डल ११–१२ सदस्यीय मात्र हुने बताउनुभएको थियो । जेनजी आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएपछि कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बन्नुभएको हो ।













