काठमाडौं ।
पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका वरिष्ठ नेता जनार्दन शर्मामाथि अराजक व्यवहार गरेको आरोप लगाउनुभएको छ।

शनिबार बसेको पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले बैठक सामान्य र सकारात्मक वातावरणमा चलिरहेको बेला शर्मा अराजक शैलीमा निस्किएको बताउनुभयो। उहाँका अनुसार, आफ्नो धारणा राखेपछि बैठकबीचमै निस्किने शैली अनुशासनहीन र पार्टी संस्कृतिअनुकूल नभएको हो।

सचिवालय बैठकका क्रममा नेता शर्माले नेकपा (एकीकृत समाजवादी)सँग माओवादी केन्द्रको पार्टी एकता प्रयासप्रति असहमति जनाउँदै असन्तुष्टि पोख्नुभएको थियो। उहाँले माओवादी केन्द्रले आफ्नो मूल विचारधाराबाट विचलित हुन नहुने भन्दै पार्टी एकता प्रक्रियामा सावधानी अपनाउनुपर्ने धारणा राख्नुभएको थियो।

त्यसक्रममा बैठक छोडेर निस्किएपछि नेताहरूबीच केही समय तनाबपूर्ण स्थिति सिर्जना भएको थियो। तर, अध्यक्ष दाहालले भने केन्द्रिय कमिटी बैठकसम्म सबै मतभेद समाधान हुने र जनार्दन शर्मा पनि एक भएर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो।

दाहालले माओवादी केन्द्र भित्र विचार फरक भए पनि संगठनात्मक रूपमा पार्टी एकजुट रहेको दाबी गर्दै नेताहरूबीच संवाद र सहकार्यको प्रक्रिया निरन्तर रहने बताउनुभयो।