बिर्तामोड, झापा । संसद् पुनर्स्थापनाको माग गर्दै झापाको अर्जुनधारामा मंगलबार नेकपा (एमाले) र राष्ट्रिय युवा संघ नेपाल अर्जुनधाराको अगुवाइमा बृहत मोटरसाइकल ¥याली सम्पन्न भएको छ।
अर्जुनधारा–६ स्थित महानन्दचोकदेखि खुदुनावारीसम्म आयोजित ¥यालीले शनिश्चरे चोक हुँदै विभिन्न ठाउँमा प्रदर्शन गरेको थियो। सहभागीहरूले ‘असंवैधानिक सरकार मुर्दाबाद’, ‘विदेशी दलाल होसियार’ र ‘विघटित संसद् पुनर्स्थापना गर’ जस्ता नारासहित सरकारविरुद्ध नाराबाजी गरेका थिए।
¥यालीपछि सम्पन्न कोणसभामा अनेरास्ववियुका कोशी प्रदेश संयोजक नारायण पोरखरेल र नेकपा (एमाले) झापाका अध्यक्ष प्रेम बहादुर गिरीले सम्बोधन गर्दै वर्तमान सरकार असंवैधानिक भएकाले तत्काल संसद् पुनर्स्थापना हुनुपर्ने माग गरे।
अध्यक्ष गिरीले भने, “यो सरकारले देशलाई निकास दिन सक्दैन। संसद् पुनर्स्थापना गरेर मात्रै स्थायित्व र समाधान सम्भव छ।” उनले एमाले कहिल्यै पनि निर्वाचनबाट नभाग्ने बताउँदै जनताको परीक्षाका लागि सधैं तयार रहेको स्पष्ट पारे।
उनका अनुसार लुटिएका हतियार र जेलबाट फरार कैदीलाई नियन्त्रणमा नलिएसम्म निष्पक्ष निर्वाचन सम्भव छैन। उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई हाइजेक गरेर देश अस्थिर बनाउने प्रयासप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रप्रेमी सबै एक हुनुपर्ने आह्वान गरे।
नेकपा (एमाले) अर्जुनधारा नगर अध्यक्ष बिर्ख प्रधानले पनि कानुनी शासन र शान्तिपूर्ण समाज निर्माणमा सबै नागरिकको भूमिका जरुरी रहेको बताए। उनले जेनजी आन्दोलनका जायज मागहरूलाई सम्बोधन गर्न आग्रह गर्दै अपराधीहरूलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरे।













