काठमाडौं,
नेपाल सरकारले नागरिक बचाउ महाअभियानलाई आधिकारिक रूपमा वार्ताका लागि आमन्त्रण गरेको छ। गृह मन्त्रालयबाट लिखित रूपमा पठाइएको पत्र मंगलबार अपराह्न अभियानका केन्द्रीय सचिवालय, भक्तपुरमा पुगी बुझाइएको हो।
उक्त पत्र काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रशासन अधिकृत तारानाथ फुल्लेल नेतृत्वको टोलीले नागरिक बचाउ महाअभियानका केन्द्रीय प्रवक्ता माधव कल्पितलाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो।
प्रवक्ता कल्पितका अनुसार हाल अभियानका केन्द्रीय अध्यक्ष देशबाहिर रहनु भएको हुँदा उहाँको आगमनपछि केन्द्रीय समिति बैठक बसेर सो पत्र र वार्तासम्बन्धी विषयमा अभियानको आधिकारिक अवधारणा सार्वजनिक गरिनेछ।
प्रवक्ता कल्पितले सरकारको यो पहललाई सकारात्मकरूपमा लिँदै नागरिकका सरोकार र मागका विषयमा संवादात्मक समाधान खोज्न अभियान सधैं तयार रहेको बताउनुभयो।
यससँगै अब नागरिक बचाउ महाअभियान र सरकारबीचको औपचारिक संवाद प्रक्रिया सुरु हुने अपेक्षा गरिएको छ।














