बिर्तामोड ।  भरत प्रसाई 

नेकपा एमाले नगर कमिटी बिर्तामोडले पत्रकार सम्मेलनको आयोजना गर्दै जेएनजी आन्दोलनका कारण भएका तोडफोड, आगजनी र विध्वंसका घटनासम्बन्धी आफ्नो धारणा सार्वजनिक गरेको छ।

पत्रकार सम्मेलनमा एमालेले जनताको रोजाइ र भरोसाको सशक्त राजनीतिक शक्ति भएको तथ्य स्मरण गराउँदै आगामी दिनमा पनि आफ्नो गरिमा, गौरव र साख जोगाइ राख्न प्रतिबद्ध रहने जनाएको छ।

457888888888

पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ— “राष्ट्रियता, प्रजातन्त्र तथा लोकतन्त्रको स्थायित्व र संविधानको रक्षार्थ नेकपा एमालेले निरन्तर जिम्मेवार भूमिका निर्वाह गर्दै आएको छ।”

विज्ञप्तिमा भनिएअनुसार गत भदौ २३ गते जेएनजी पुस्ताले विभिन्न मागसहित गरेको आन्दोलनका क्रममा १९ जना नवयुवाको मृत्यु र त्यसपछिको तोडफोड, आगजनी तथा लुटपाटका घटनाप्रति एमालेले गहिरो दुःख व्यक्त गरेको छ।

बिर्तामोडमा प्रहरीसँगको प्रतिकारका क्रममा ज्यान गुमाएका तीन जना आन्दोलनकारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ।


एमालेले आन्दोलनपछि भएको क्षतिको विवरणसमेत सार्वजनिक गरेको छ।

सो क्रममा नगर कमिटी अध्यक्ष सुभाष भट्टराईको घर, गाडी र स्कुटरमा आगजनी तथा लुटपाट, पूर्वनगरप्रमुख धुर्वकुमार शिवाकोटीको घर र गाडीमा आगजनी, प्रदेश मन्त्री एकराज कार्कीको निवासमा तोडफोड, नगरप्रमुख  पवित्रा महतारा प्रसाई , उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र वडा नं. ३ का अध्यक्ष मदन बुढाथोकीको गाडीमा तोडफोड, शिक्षक हित साकोस कार्यालय, गरामनी क्याम्पस, बिर्तामोड नगरपालिका कार्यालय भवन र गाडी, वडा नं. १, २, ३, ४, ५, ७ र ९ का वडा कार्यालयहरू, यातायात व्यवस्था कार्यालय मेची, जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय  अनारमनी , नेकपा एमाले झापा जिल्ला कार्यालय, एमाले बिर्तामोड ७, ८, ९ को संयुक्त पार्टी कार्यालय र उद्रकान्त प्रतिष्ठानमा आगजनी र लुटपाट भएको उल्लेख गरिएको छ।

Capture 3

पार्टीले यी सबै क्षतिको मूल्यांकन गरी पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन र दोषीहरूको पहिचान गरी कानुनी कारबाही गर्न सरकारसमक्ष जोडदार माग गरेको छ।

त्यस्तै, बिर्तामोड–८ गरामनी बजारमा रहेको शहीदहरूको प्रतिमा तोडफोडमा संलग्न व्यक्तिहरूलाई पनि कारबाही गर्न माग गरिएको छ।

एमालेले हालको असंवैधानिक सरकारप्रति असन्तोष जनाउँदै संसदद्वारा पारित बजेट कटौती गरेर बिर्तामोड नगर क्षेत्रमा विनियोजित करोडौँ रुपैयाँका योजना रोकिएको आरोप लगाएको छ।


पार्टीले रोकेका सबै योजनाहरू तत्काल कार्यान्वयनमा ल्याउन जोडदार माग गरेको छ।

897

एमालेले प्रस्तुत गरेको योजनाहरूमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत बिर्तामोड रिङरोड निर्माण (४ करोड), गोल्धाप–सुन्दरपुर सडक (३ करोड), चैत नेत्र मार्ग सुधार (४ करोड), सैनिक मोड–तेलकानी पोखरी सडक (३ करोड), झापा मिनाचोक–उखुबारी सडक स्तरउन्नति (३ करोड), झापा क्षेत्र नं. २ चक्रपथ स्तरउन्नति (८ करोड) गरी २८ करोडका योजनाहरू समावेश छन्।

साथै सहरी विकास मन्त्रालय अन्तर्गत हर्चनामा तटबन्ध (३ करोड), मोहनमाया माध्यमिक विद्यालय भवन निर्माण (३ करोड), देउनियाबाट घैला डुब्बा जोड्ने सडक (३ करोड), देउने पुल–मसले टोल हुँदै बिर्तामोड ७ जोड्ने सडक (३ करोड), मण्डमार्ग कालोपत्रे (३ करोड) लगायतका योजनाहरू उल्लेख छन्।


त्यस्तै, बेमौसमी वर्षाका कारण सयौँ बिघामा पाक्न लागेको धान नष्ट भएकाले प्रभावित किसानलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि एमालेले माग गरेको छ।

पार्टीले यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा आयोजना हुने ११औं महाधिवेशनका तयारीका लागि सम्पूर्ण कार्यकर्तालाई सक्रिय सहभागिताको आह्वान गरेको छ।

साथै, कार्तिक २२ गते वडा स्तरीय, २५ गते पालिका स्तरीय र २९ गते जिल्ला स्तरीय जनजागरण सभा आयोजना गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ।

अन्त्यमा पार्टीले निर्वाचित प्रतिनिधि सभाको कार्यकाल नसकिँदै गरिएको विघटनलाई असंवैधानिक बताउँदै यसको पुनर्स्थापना र संविधान संशोधन नै वर्तमान समस्याको दीर्घकालीन समाधान हुने धारणा राखेको छ।

“संविधान संशोधनमार्फत नवयुवाको माग सम्बोधन हुनेगरी प्रतिनिधित्व सुनिश्चित हुने निर्वाचन नै नेकपा एमालेको प्रमुख माग हो,” विज्ञप्तिमा भनिएको छ।

कार्यक्रममा बिर्तामोड नगरप्रमुख  पवित्रा महतारा प्रसाई , उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा नं. ३ का अध्यक्ष मदन बुढाथोकी, केन्द्रीय सदस्य अमृतलाल राजवंशी, कोशी प्रदेश प्रचारप्रसार विभाग प्रमुख गोपाल काफ्ले, नगर कमिटी सचिव अम्बिका लिङ्देन, सहसचिव गङ्गालाल राजवंशी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा झापाका विभिन्न सञ्चार माध्यमका पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो।