चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले कार्यवाहक सभापति डिपी अर्याल (डोलप्रसाद) द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रयोग गरिएको ‘रातो क्रान्ति’ शब्दप्रति आपत्ति जनाएकी छन्।

उनका अनुसार जेनजी आन्दोलन कुनै सशस्त्र वा हिंसात्मक आन्दोलन नभई संविधानले दिएको अधिकार अन्तर्गत गरिएको शान्तिपूर्ण प्रदर्शन थियो।

कार्कीले भनिन्, “जेनजीहरू शान्तिपूर्ण रूपमा आफ्ना माग राख्दै सडकमा उत्रिएका थिए। सरकारले नै गोली चलाएको हो। यसलाई ‘रातो क्रान्ति’ भन्नु अन्यायपूर्ण र भ्रामक व्याख्या हो।”

अर्यालले शुक्रबार प्रस्तुत राजनीतिक प्रतिवेदनमा जेनजी आन्दोलनलाई “रातो क्रान्ति”को संज्ञा दिएका थिए। उनले रास्वपा २०८४ सालमा मतदातामार्फत परिवर्तन ल्याउने तयारीमा रहेको तर जेनजीहरूले त्यसअघि नै आन्दोलनमार्फत परिवर्तनको ढोका खोलेको बताएका थिए।

कार्कीले भने उक्त प्रतिवेदनको दृष्टिकोण त्रुटिपूर्ण रहेको बताउँदै जेनजी आन्दोलनको मुद्दा र रास्वपाको एजेन्डाबीच खास फरक नरहेको, तर आन्दोलनको बाटो फरक रहेको तथ्यलाई तोडमोड गर्न नहुने धारणा राखेकी थिइन्।

उनले थपिन्, “जेनजी आन्दोलन र त्यसको परिणामलाई आफ्नो राजनीतिक लाभका लागि प्रयोग गर्ने प्रयास असफल भएपछि त्यसलाई ‘रातो क्रान्ति’ भनेर आरोप लगाउनु अनुचित हो।”

चितवन सौराहामा जारी रास्वपाको विस्तारित बैठकमा ५१२ जना प्रतिनिधिहरू सहभागी छन्। कार्यवाहक सभापति डिपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीले क्रमशः राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

सात समूहमा विभाजन गरिएका प्रतिनिधिहरूले ती प्रतिवेदनमाथि समूहगत छलफल जारी राखेका छन्। बैठक आइतबारसम्म चल्नेछ।