काठमाडौं । राजधानीकै प्रमुख पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्समा आजदेखि केबलकार सेवा पुनः सञ्चालनमा आएको छ। करिब दुई महिना अघि तोडफोडका कारण बन्द गरिएको सेवा मर्मत तथा सुरक्षा परीक्षण पूरा गर्दै पुनः सुचारु गरिएको हो।

गत भदौ २४ गते भएको तोडफोड घटनापछि केबलकारको बटम स्टेशनमा ठूलो क्षति पुगेको थियो। त्यसयता कम्पनीले केबलकार निर्माता अस्ट्रियाली संस्था डोपलमेयरका प्राविधिक टोली बोलाएर आवश्यक मर्मत, परीक्षण र निरीक्षणका कार्य सम्पन्न गरेको हो।

कम्पनीका अध्यक्ष हेमराज ढकालका अनुसार अहिले सेवा पूर्णरूपमा सुरक्षित र सहज बनाइएको छ। उनले भने, “हामीले यात्रुहरूको सुरक्षालाई पहिलो प्राथमिकता दिएका छौं। अब भक्तजनहरू भालेश्वर महादेवको दर्शन गर्न र पर्यटकहरूले रिसोर्टको आतिथ्य अनुभव गर्न सहज हुनेछ।”

 जनहितमा जारी

सेवा पुनः सुचारु भएपछि चन्द्रागिरि हिल्समा भक्तजन र पर्यटकको भीड बढ्ने अपेक्षा गरिएको छ। केबलकार सञ्चालन बन्द हुनु अघि दैनिक करिब दुई हजार यात्रुहरू चन्द्रागिरि पुगेका थिए।

काठमाडौं उपत्यकाको दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित चन्द्रागिरि हिल्स धार्मिक, प्राकृतिक र मनोरञ्जनका कारण पर्यटकहरूका लागि प्रमुख आकर्षणको केन्द्र बनेको छ। कम्पनीले सेवा पुनः सुरुसँगै नयाँ अफर र आकर्षक प्याकेज पनि ल्याउने तयारी गरिरहेको जनाएको छ।