पोल्याण्ड । प्रवासमा रहेका नेपालीहरूको पहल र सक्रियतामा पोल्याण्डमा सातौँ स्व. राजा वीरन्द्र स्मृति फुटबल टुर्नामेन्ट हुने भएको छ।

द ब्रदर्स हुड्सको आयोजनामा फेब्रुअरी २५ तारिखमा वार्साजावा–स्थित डोमिनिका मर्लिन निगो–२ मैदानमा हुने यस प्रतियोगितामा १६ भन्दा धेरै टिम सहभागी हुने आयोजकहरूले बताएका छन्।


द ब्रदर्स हुड्सका संयोजक मुकुल बोहोराका अनुसार, प्रवासमा रहेर पनि खेलमार्फत नेपाली समुदायबीच एकता, सहयोग र भाइचाराको भावना बढाउने उद्देश्यले यो टुर्नामेन्ट आयोजना गरिँदै आएको हो।

बोहराले विगत ६ वर्षदेखि लगातार सफलतापूर्वक टुर्नामेन्ट सञ्चालन गर्दै आउन समुदायले दिएको विश्वास, समर्थन र माया नै आज सातौँ संस्करणसम्म आइपुग्न मुख्य आधार रहेको बताए।

उहाँले खेलाडी, टिम, समर्थक, प्रायोजक, शुभेच्छुक तथा पोल्याण्डमा रहेका सम्पूर्ण नेपालीहरूले प्रारम्भदेखि नै टुर्नामेन्टलाई साथ दिँदै आएको भन्दै सबैप्रति आभार प्रकट गरे।

उहाँका अनुसार, प्रतियोगितामा विशेषगरी पोल्याण्डमै रहेका नेपाली फुटबल टिमहरूलाई प्राथमिकता दिइनेछ।

संयोजक बोहराले यो टुर्नामेन्ट खेल प्रतियोगिता मात्र नभई समुदायप्रति गर्व, समूह भावना र साझेदारीको संस्कृतिलाई मजबुत बनाउने एक माध्यम भएको उल्लेख गरे।

खेलाडीहरूलाई सुरक्षित रूपमा तयारी गरी आत्मविश्वासका साथ मैदानमा उत्रिन शुभकामना व्यक्त गर्दै, द ब्रदर्स हुड्सले प्रवासमा पनि नेपालीहरूको पहिचान र फुटबलप्रतिको प्रेमलाई निरन्तर अगाडि सारेको बताए।

द ब्रदर्स हुड्सको स्थापना २०१८ मा भएको हो। राष्ट्र र जन्मभूमिप्रतिको माया, फुटबलप्रतिको मोह र प्रवासमा नेपाली युवाहरूको क्षमता उजागर गर्ने उद्देश्यले २०१९ देखि निरन्तर स्व. राजा वीरन्द्र स्मृति फुटबल टुर्नामेन्ट आयोजना हुँदै आएको छ।

गत वर्ष १६ टिम सहभागी भएकोमा यसपटक बढी चासो देखिएकाले सहभागी टिमको संख्या थपिन सक्ने जनाइएको छ। टुर्नामेन्टमा सहभागी हुन इच्छुक टिमहरूले PLN 1499 तिरेर दर्ता गर्नुपर्नेछ।

आयोजकले दर्ताका लागि मोबाइल नम्बर +48 729 644 982 र Whatsapp नम्बर +48 579 166 318 उपलब्ध गराएको छ।


टुर्नामेन्टका विजेता टिमहरूलाई आकर्षक पुरस्कार रहेको आयोजकले जनाएको छ। पहिलो हुने टिमलाई PLN 7,000, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। त्यस्तै दोस्रो हुने टिमले PLN 3,777, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने तेस्रो हुने टिमले PLN 2,777, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ।


‘हाम्रो टिम नै हाम्रो गर्व’ भन्ने मूल नाराका साथ द ब्रदर्स हुड्सले प्रवासमा रहेका नेपालीहरूबीच फुटबल खेलको लोकप्रियता बढाउँदै समुदायको पहिचान युरोपसम्म फैलाउँदै आएको छ। विगतका हरेक संस्करणमा जस्तै यसपटक पनि टुर्नामेन्टले पोल्याण्डमा रहेका नेपाली समुदायमा थप उत्साह र एकता सिर्जना गर्ने आयोजकको विश्वास छ।


पोल्याण्डमा रहेका नेपालीहरूको निरन्तर प्रयास, सहयोग र सहभागी उत्साहका बीच सातौँ लेट किङ वीरन्द्र मेमोरियल टुर्नामेन्ट भव्य रूपमा सम्पन्न हुने तयारी रहेको आयोजकले जनाएको छ।