बिर्तामोड, झापा । साहित्य चौतारी बिर्तामोड झापाको आयोजनामा शिक्षासेवी रामप्रसाद सिटौलाको जीवन वृतान्त समेटिएको कृति ‘प्रकाश र प्रवाहहरू’ को शनिवार एक विशेष समारोहबीच लोकार्पण गरिएको छ।

साहित्य चौतारी बिर्तामोड झापा शाखाकी संरक्षक तथा उपाध्यक्ष उर्मिला बिमली श्रेष्ठको अध्यक्षता र साहित्यकार पुण्यप्रसाद खरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

IMG_0241

प्रमुख अतिथि खरेलले पानसमा बत्ती बाल्दै र ब्यानर अवलोकन गर्दै कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो। जन्मभूमि, माटो र योगदानकर्ताहरूलाई सम्झँदै कार्यक्रमको सुरुवात गरिएको थियो।

कार्यक्रममा साहित्य चौतारीका अध्यक्ष देवीभक्त श्रेष्ठले अतिथिहरू र सहभागीलाई स्वागत गर्दै पुस्तकमा जीवनका विभिन्न उतार–चढाव, संघर्ष र उपलब्धिहरूलाई मिश्रित तर संवेदनशील ढङ्गले प्रस्तुत गरिएको बताए।

पुस्तकका भाषा सम्पादक तथा वरिष्ठ सल्लाहकार हरिनारायण भट्टराईले आठराई क्षेत्रलाई “शिक्षा र चेतनाको संगम बिन्दु” भन्दै २०१३ सालतिरै त्रिभुवन विश्वविद्यालय स्थापना भएको ऐतिहासिक पृष्ठभूमिलाई स्मरण गराए।

IMG_0292

पूर्वमा शिक्षाको बीउ रोप्ने र शैक्षिक उन्नयनमा आठराईको महत्वपूर्ण भूमिकालाई जोड दिँदै उनले लेखक सिटौलाको कृतिलाई “इतिहासको प्रतिबिम्ब” को रूपमा व्याख्या गरे।

समीक्षक विनोद खरेलले पुस्तकले इतिहास, भूगोल र जीवनका गहिरा प्रसङ्गहरूलाई अत्यन्त सरल तथा सशक्त भाषामा सम्प्रेषण गरेको उल्लेख गर्दै लेखकका बाल्यकालका घटना, समयका संघर्ष र जीवनयात्राका विविध अध्यायलाई पुस्तकले प्रष्ट र प्रभावकारी ढङ्गले चित्रण गरेको बताए।

शिक्षासेवी उमानाथ ओली, हरिचरण बानिया लगायत झापा र आठराई क्षेत्रका शैक्षिक तथा बौद्धिक व्यक्तित्वहरूले पुस्तक तथा लेखक सिटौलाको शिक्षाक्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गरे।

IMG_0188

प्रमुख अतिथि पुण्यप्रसाद खरेलले ‘प्रकाश र प्रवाहहरू’ लाई “जीवनका भोगाइ र समयका दस्तावेजहरू समेटिएको अनुपम उपहार” भन्दै सबैलाई पुस्तक अध्ययन गर्न आग्रह गरे। शिक्षासेवी सिटौला स्वयं इतिहाससँगै बगेको जीवन यात्राका धनी भएको र पुस्तकले समाजका प्रत्येक कालखण्डका यथार्थ र घटनालाई उजिल्याएको उहाँको भनाइ थियो।

IMG_0189

कार्यक्रमको सञ्चालन साहित्य चौतारी झापा शाखाका सचिव तुलसीप्रसाद निरौलाले गरेका थिए। गजलकार केशव आचार्य, लोकगायक तथा वरिष्ठ सल्लाहकार अनिरुद्र ओली, शिक्षाविद् विनोद खनाल, पत्रकार भरत प्रसाईसहित साहित्यकार, लेखक तथा पत्रकारहरूको उत्साहपूर्ण सहभागिता थियो। सहभागी वक्ताहरूले पुस्तकलाई कालखण्डका संघर्ष, अनुभूति र इतिहासलाई सरल तर प्रष्ट अभिव्यक्त गर्ने दस्तावेजको रूपमा टिप्पणी गरेका थिए।