काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि रातभर मतदान भएको छ । बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान विहीबार बिहानसम्म जारी छ ।
अहिले मतदान अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका सचिव कुन्साङ लामाका अनुसार एक घण्टा भन्दा कम समयमा मतदान सकिन्छ ।
महाधिवेशनमा २ हजार २ सय ६३ जना प्रतिनिधि छन् । तर शतप्रतिशत मत नखसेको निर्वाचन आयोगका एक प्रतिनिधिले बताए । स्रोतका अनुसार करिब ३६ मत खसेको छैन ।
बिहीबार बिहान ४ बजेसम्म २१०० मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
कुल मतदाता अनुसार अब १६३ जना प्रतिनिधिको मतदान बाँकी छ ।
रामलक्ष्मण भोटिङ मेसिनबाट बुधबार बिहान ९:१२ बजेदेखि मतदान सुरु भएको थियोे । एमालेको निर्वाचन आयोगले बिहान ५ बजेभित्र मतदान केन्द्र भित्र पसिसक्न सूचना जारी गरेको छ ।
एमाले महाधिवेशनमा २ हजार २ सय ६३ जना प्रतिनिधि छन् । एमालेको नयाँ नेतृत्वका लागि हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।
मतपरिणाम आजै सार्वजनिक हुनेछ । एमालेले ११ बजे भृकुटीमण्डपमै मत परिणाम सार्वजनिक गर्ने, प्रमाणपत्र वितरण गर्ने र शपथग्रहण गर्ने जनाएको छ ।














