बिर्तामोड - झापा। हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औँ वार्षिक साधारणसभा अन्तर्गत एकाई नम्बर ३ (गौरादह, गेउरिया र गौरीगन्ज सेवाकेन्द्र) को सभा पुस २ गते बुधबार गेउरियामा भव्य रूपमा सम्पन्न भएको छ।
संस्थाका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा एकाई ३ की सहजकर्ता मनिषा पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन व्यवस्थापक सरोज दाहालले गर्नुभएको थियो।
सभामा कार्यवाहक अध्यक्ष गौतमले वार्षिक प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समिति सदस्य श्री प्रसाद न्यौपानेले लेखा प्रतिवेदन र ऋण उपसमिति संयोजक तुलसी प्रसाद गौतमले ऋण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो, जसलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको छ।
कार्यक्रममा बोल्दै कार्यवाहक अध्यक्ष गौतमले संस्थागत सुशासनका लागि शेयर सदस्यको सक्रिय सहभागिता र जिज्ञासा अपरिहार्य रहेको बताउँदै सहकारीलाई सदस्यहरूको आर्थिक र सामाजिक रूपान्तरणको माध्यम बनाउनुपर्नेमा जोड दिनुभयो।

संस्थाले सार्वजनिक गरेको पछिल्लो वित्तीय विवरण अनुसार संस्थाको पहुँच र कारोबार निकै सुदृढ देखिएको छ।
झापा, इलाम र मोरङ जिल्लालाई कार्यक्षेत्र बनाएर ३१ वटा सेवाकेन्द्र मार्फत सेवा दिइरहेको यस संस्थामा हाल ३९ हजार ९ सय ५ जना शेयर सदस्यहरू आबद्ध छन्। संस्थाको कुल शेयर पूँजी १८ करोड ५१ हजार ७ सय रुपैयाँ रहेको छ भने कुल कारोबार (वासलात) २ अर्ब ३७ करोड १४ लाख ३८ हजार ५१ रुपैयाँ पुगेको छ। संस्थाले १ अर्ब ७२ करोड ४१ लाख ९८ हजार १९५ रुपैयाँ बचत संकलन गरी १ अर्ब ९५ करोड १२ लाख २३ हजार ५८५ रुपैयाँ ऋण लगानी गरेको छ। ८ हजार ६ सय ९५ जना बाल बचतकर्ता रहेको यस संस्थाले सदस्यहरूको कारोबारका आधारमा २० लाख रुपैयाँसम्मको निःशुल्क दुर्घटना बीमा सुविधा समेत प्रदान गर्दै आएको छ।

संस्थाको एकाईगत साधारण सभाहरू मंसिर २९ गते सुरुङ्गाबाट सुरु भई पुस १ गते चुलाचुली र पुस २ गते गेउरियामा सम्पन्न भइसकेका छन्।
तालिका अनुसार पुस ३ गते उर्लाबारी, पुस ४ गते बुधबारे, पुस ६ गते बिर्तामोड र पुस ७ गते चन्द्रगढीमा एकाई सभाहरू आयोजना गरिने कर्मचारी वेद प्रकाश दवाडीले जानकारी दिनुभएको छ।
सबै एकाई सभाहरूबाट चयन भएका प्रतिनिधिहरूको उपस्थितिमा संस्थाको १३ औँ वार्षिक साधारणसभाको माइन्युट प्रमाणीकरण सभा आगामी पुस १० गते बिर्तामोडको आदर्श व्याङकेटमा सम्पन्न हुने संस्थाले जनाएको छ।














