५ पुस, बुटवल।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले न्यायका लागि आफ्नो संघर्ष अझै जारी रहेको बताएका छन्। भैरहवास्थित जिल्ला कारागारबाट रिहा भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले आफूविरुद्ध भएको अन्याय देशमाथि भएको अन्यायको तुलनामा नगण्य भएको उल्लेख गरे।

लामिछानेले आफू बोल्ने समय अझै आउन बाँकी रहेको भन्दै सबै हिसाब–किताब गर्नुपर्ने बताए।

उनले भने, “न्यायको यो लडाइँ मेरो लागि मात्र होइन, यो देशको न्यायका लागि हो। यिनीहरूले देशमाथि गरेको अन्यायको अगाडि ममाथि गरिएको अन्याय केही पनि होइन। सबैको हिसाब मिलाउन बाँकी छ।”

काठमाडौंबाट हवाईजहाजमार्फत भैरहवा आउने तयारी भए पनि खराब मौसमका कारण उनी चितवनसम्म विमानमार्फत आएर त्यहाँबाट सडकमार्ग हुँदै साँझ पौने ६ बजे भैरहवा कारागार पुगेका थिए।


लामिछाने कारागारमा पुग्दा र रिहा हुँदा रास्वपाका नेता, कार्यकर्ता तथा समर्थकहरूले हुटिङ गर्दै खुसी साटासाट गरेका थिए।

रूपन्देही जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालका अनुसार उच्च अदालतको आदेशअनुसार केही सर्त पूरा गर्दै बैंक जमानतको कागजात बुझाएपछि उनलाई रिहा गरिएको हो।


बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

बिगो बापत २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएपछि उनी रिहा भएका हुन्।