काठमाडौँ । जेन्जी आन्दोलन पश्चात गठित अन्तरिम सरकारले मिति २०८२ फागुन २१ गतेका लागि घोषणा गरेको संसदीय निर्वाचनलाई केन्द्रमा राख्दै नागरिक बचाउ अभियान नेपालले निर्वाचन र पार्टीको अवधारणासम्बन्धी विशेष छलफल कार्यक्रम आयोजना गर्ने भएको छ।

नागरिक बचाउ अभियान नेपालका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईको प्रमुख आतिथ्यतामा आयोजना हुने उक्त छलफल कार्यक्रममा समसामयिक राजनीतिक परिस्थिति, निर्वाचन प्रणाली तथा दलहरूको अवधारणामाथि व्यापक विमर्श गरिने जनाइएको छ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला व्यक्तित्व तथा नागरिक समाजको सहभागिता रहनेछ।

88b1db33-9ff9-469c-aec3-f441b00ff122आयोजकका अनुसार छलफल कार्यक्रममा सम्बद्ध राजनीतिक दलहरूलाई आफ्ना आधिकारिक धारणा र अवधारणासहित उपस्थित हुन अनुरोध गरिएको छ। यस कार्यक्रममार्फत नागरिक र राजनीतिक नेतृत्वबीच प्रत्यक्ष संवाद स्थापित गर्ने उद्देश्य राखिएको छ।

छलफल कार्यक्रम पौष ६ गते अपराह्न ३:३० बजे, काठमाडौँको बानेश्वरस्थित होटल एभरेस्टमा आयोजना हुनेछ।

नागरिक बचाउ अभियान नेपालले सम्पूर्ण पत्रकार, राजनीतिक दल, बुद्धिजीवी तथा आम नागरिकलाई कार्यक्रममा उपस्थित भई छलफललाई सफल बनाउन अपिल गरेको छ।

 नागरिक बचाउ दल नेपालका सभापति माधव कल्पितले निर्वाचनको पूर्वसन्ध्यामा यस्ता विमर्श कार्यक्रमहरूले लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ।