झापा । भरत प्रसाई , नेकपा एमाले झापा जिल्ला कमिटीले गत भदौ २३ र २४ गते जेन्जीको नाममा भएको प्रदर्शनका क्रममा भएको हिंसा, तोडफोड र आगजनीलाई आकस्मिक नभई विदेशी शक्तिको योजनाबद्ध षड्यन्त्रको परिणाम भएको ठहर गरेको छ।
पार्टी जिल्ला कार्यालय झापामा आयोजित पत्रकार सम्मेलनमार्फत एमालेले उक्त घटनामा होनहार विद्यार्थी, सुरक्षाकर्मी र सर्वसाधारण नागरिकको ज्यान गएको तथा दर्जनौं घाइते भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगतप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
एमालेका अनुसार भदौ २३ गते जेन्जीको शान्तिपूर्ण प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले राजीनामा दिइसकेपछि भदौ २४ गते देशव्यापी रूपमा सिंहदरबार, राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सर्वोच्च अदालत, संसद भवन, अख्तियारको कार्यालयलगायत सरकारी निकाय, सरकारी सवारी साधन, निजी घर, सवारी, व्यावसायिक प्रतिष्ठान, सहकारी र बैंकहरूमा व्यापक आगजनी र तोडफोड गरिएको थियो। सो क्रममा नागरिकको हत्या समेत भएको एमालेको दाबी छ।

एमाले झापाले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार फागुन २१ गते निर्वाचन गराउने म्यान्डेटसहित गठन भए पनि शान्ति–सुरक्षाप्रति गम्भीर नभएको आरोप लगाएको छ। जेलबाट भगाइएका अपराधी अझै नियन्त्रणमा नआएको, सुरक्षा कार्यालयबाट लुटिएका हतियार फिर्ता नभएको तथा ठूला राजनीतिक दललाई अवरोध सिर्जना गरी निष्पक्ष निर्वाचनको वातावरण बिगारिएको एमालेको भनाइ छ।
पार्टीले विदेशी शक्ति र तिनका दलालहरूले धार्मिक, जातीय तथा हिंसात्मक द्वन्द्व भड्काएर देशलाई अस्थिर बनाउने षड्यन्त्र गरिरहेको दाबी गर्दै त्यसविरुद्ध चुप लागेर नबस्ने स्पष्ट पारेको छ। संविधान, लोकतन्त्र, राष्ट्रियता र सामाजिक सद्भावको रक्षा गर्न आवश्यक परे जुनसुकै मूल्य चुकाउन तयार रहेको एमालेको चेतावनी छ।
एमाले झापाले निर्वाचन हुन नसक्ने अवस्था आए संसद पुनर्स्थापना, संविधान संशोधन, सर्वपक्षीय सरकार गठन गरी अर्ली निर्वाचनमार्फत देशलाई संवैधानिक निकास दिनुपर्ने धारणा सार्वजनिक गरेको छ।
यही सन्दर्भमा पार्टीले मिति २०८२ साल पौष १० गते दमक र बिर्तामोडमा खबरदारी कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ। कार्यक्रममा सबै पालिका, वडा र टोल तहका सुरक्षा समिति परिचालन गरिने जनाउँदै सम्भावित हुलहुज्जत वा आक्रमणको प्रतिरक्षाका लागि गाउँ–गाउँ र बस्ती–बस्तीमा सतर्क रहन कार्यकर्तालाई अपिल गरिएको छ।
पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष प्रेमगिरीले राष्ट्रवादी र जनताप्रति जिम्मेवार पार्टी भएकाले प्रतिगामी तत्व र विदेशी षड्यन्त्रको मुखदर्शक बन्न नसक्ने स्पष्ट पारे।














